
रसुवा । गत असार २४ गते चीनबाट एक्कासि आएको बाढीले जलविद्युत् आयोजनाहरूमा पुर्याएको क्षतिको यकिन विवरण आउन अझै समय लाग्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार जलविद्युत् आयोजनाहरूमा पुर्याएको क्षतिको यकिन विवरण अझै आउन बाँकी नै रहेको जनाएको छ ।
बाढी गएको दुई साता बितिसक्दा पनि अझै यकिन विवरण संकलन गर्न नसकिएको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले बाढीले बगाएर ल्याएको गेग्रान र हिलोका कारण क्षतिको वास्तविक अवस्था मूल्यांकन गर्न कठिनाइ भएको बताए । उनले बाढी प्रभावित क्षेत्रमा खनेर नहेरेसम्म क्षतिको पूर्ण र वास्तविक विवरण आउन सक्ने अवस्था नभएको जानकारी दिए ।
प्रवक्ता ढकालले भने, ‘अहिले क्षतिको विवरण आइसकेको छैन । खन्ने काम पूरा नभएसम्म कति क्षति भयो भन्ने यकिन गर्न सकिँदैन ।’
उनले निर्माणाधीन र सञ्चालनमा रहेका दुवै किसिमका आयोजनामा बाढीले असर पारेको बताए । सञ्चालनमा आइसकेका भनिएका पाँचवटा आयोजनाको पनि कुनै ठोस विवरण प्राप्त नभएको जानकारी दिए ।
प्रवक्ता ढकालले क्षतिको मूल्यांकन गर्ने काम जारी रहेको र विवरण आउनासाथ सार्वजनिक गरिने बताए । उनले बाढीले पुर्याएको क्षतिको मर्मतसम्भार गरी आयोजनाहरू पुनः सञ्चालनमा ल्याउन कति समय लाग्छ भन्ने कुरा पनि क्षतिको पूर्ण विवरण आएपछि मात्र भन्न सकिने बताए ।
रसुवागढी जलविद्युत् आयोजनामा मात्रै साढे ३ अर्ब क्षति
बाढीले १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा प्रारम्भिक अध्ययन हेर्दा साढे ३ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको आयोजनाका सूचना अधिकारी नरनाथ न्यौपानेले बताए ।
बाढीले मुख्य बाटो नै बगाएकाले क्षति मूल्याङ्कनको काम सुरु हुन अहिलेसम्म नसकेको न्यौपानेले बताए । ‘मुख्य समस्या बाटो नै हो, बाटो नभएसम्म हामी साइटमा गएर क्षतिको वास्तविक मूल्याङ्कन गर्न सक्ने अवस्थामा छैनौं,’ न्यौपानेले भन्नुभयो, ‘जब बाटो खुल्छ, त्यसपछि मात्रै मूल्याङ्कनको प्रक्रिया सुरु हुन्छ ।’
उनका अनुसार अहिलेसम्मको प्रारम्भिक अनुमानअनुसार करिब साढे ३ अर्ब रुपैयाँ बराबरको क्षति भएको हुनसक्ने बताइएको छ । यो अनुमानित आँकडा मात्र भएको र वास्तविक क्षति योभन्दा फरक आउन सक्ने अवस्था रहेको उनको भनाइ छ ।
‘यो एकदमै प्रारम्भिक अनुमान हो, संरचना हेरेर यति हुनसक्छ भनिएको मात्र हो, कति प्रतिशत क्षति भयो भन्ने यकिन छैन,’ उनले भने । उनका अनुसार खोलामा पानीको सतह नघटेका कारण बाँधमा पुगेको क्षति यकिन हुन नसक्ने बताए । खोलामा पानी सतह बढेको र पहुँच मार्ग टुटेका कारण विस्तृत विवरण गर्न आयोजनालाई समस्या परिरहेको बताए ।
भोटेकोशी नदीमा आएको बाढीले आयोजनाको ड्याम साइटलगायत संरचनामा क्षति पुर्याएको छ । स्याफ्रुबेंसी–टिमुरे सडकखण्ड अवरुद्ध हुँदा उद्धार र मूल्याङ्कन कार्यमा कठिनाइ भएको छ । बाढीले नेपाल(चीन जोड्ने मितेरी पुलसमेत बगाएको छ ।
त्यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का कार्यकारी निर्देशक भीम गौतमले रसुवा बाढी सबैभन्दा बढी प्राधिकरण अन्तरर्गतका आयोजनाहरूमा क्षति भएकाले इप्पानसँग पनि तथ्याङ्क नआएको बताए ।
उनले निजी जलविद्युत् आयोजनाहरू कम क्षति भएको र भएकाहरूको पनि यकिन विवरण नआएको बताए । उनका अनुसार चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा सञ्चालनमा रहेका १० भन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुगेको भए पनि यकिन विवरण अझै आउन नसकेको उल्लेख गरे ।
पछिल्लो तीन वर्षमा २० अर्बको क्षति
पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा बाढीका कारण जलविद्युत् क्षेत्रले अर्बौंको नोक्सानी व्यहोरेको छ । नदी र खोलाभित्रै जलविद्युत् आयोजनाहरू हुने भएकाले उच्च जोखिममा छन् । असार २४ गते जस्तै २०८० असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीले जलविद्युत् आयोजनामा क्षति हुँदा ८ अर्ब ८४ करोडभन्दा बढी नोक्सानी भएको थियो ।
बाढीपहिरोबाट सञ्चालनमा रहेका १३ र निर्माणाधीन १७ गरी ३० जलविद्युत् आयोजनामा क्षति पुग्दा अर्बौं लगानी जोखिममा परेको थियो । त्यस्तै, त्योभन्दा पहिला २०७८ असारमा पूर्वमा आएको बाढीका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको थियो ।
१६ वटा जलविद्युत् आयोजनामा क्षति हुँदा १० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको थियो । उक्त वर्ष बाढीले सबैभन्दा बढी मादी करिडोर र दोर्दी करिडोरका जलविद्युत् आयोजनामा क्षति पुगेको थियो ।
क्षति भएका पाँच आयोजना सञ्चालनमा
रसुवा बाढीले क्षति पुर्याएका ९ जलविद्युत् आयोजनामध्ये पाँच आयोजना सञ्चालनमा आएको ऊर्जा मन्त्रालयले जनाएको छ । बाढी आएको एक हप्तापछि पाँच आयोजना सञ्चालनमा आएका हुन् । प्राधिकरणका प्रवक्ता ढकालले सञ्चालनमा आएका आयोजनाहरूको पनि यकिन रकममा कति क्षति भयो भन्ने आँकलन नगरिएको बताए ।
बाढीका कारण त्रिशुली नदी करिडोरमा सञ्चालनमा रहेका ९ जलविद्युत् आयोजना तथा प्रसारण संरचनाहरूमा क्षति पुगेको थियो । जसकारण करिब २५० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको थियो ।
बाढीले १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ए, २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्र, १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्र, १४।३ मेगावाट क्षमताको अपर मैलुङ जलविद्युत् आयोजना, ११ मेगावाट क्षमताको सूर्यकुण्ड जलविद्युत् आयोजना, ५ मेगावाट क्षमताको बुद्धभूमि जलविद्युत् आयोजना र २२०र१३२र३३ केभी क्षमताको त्रिशूली–३ वी हब क्षति पुर्याएको थियो ।
जसमध्ये अहिले चिलिमे, त्रिशूली, देवीघाट, सूर्यकुण्ड, बुद्धभूमि लगायत कुल ९० मेगावाट क्षमता बराबरका जलविद्युत् आयोजनाहरू सञ्चालनमा आइसकेको ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले बताए । ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजना केही दिनभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए ।
उनले सबभन्दा बढी क्षति भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना सञ्चालनमा ल्याउन केही महिना समय लाग्ने जानकारी दिए ।
जलविद्युत् विपद् व्यवस्थापन २ अर्ब ८० करोड स्रोत सुनिश्चित
बाढीका कारण क्षति भएका जलविद्युत् आयोजनाहरूमा विपद् व्यवस्थापनका लागि ऊर्जा मन्त्रालयले २ अर्ब ८० करोड स्रोत सुनिश्चित भएको जनाएको छ । मन्त्रालयका सचिव सुरेश आचार्यका अनुसार मन्त्रालयले ऊर्जा क्षेत्रमा विपद् व्यवस्थापनका लागि रकम सुनिश्चित गरेको जनाए ।
उनले भने, ‘विपद् व्यवस्थापन अन्तर्गत २ अर्ब ८० करोडको स्रोत सहमति प्राप्त गरी नदी व्यवस्थापन कार्य भइसकेको छ ।’ मन्त्रालयले अघिल्लो वर्षको बाढीले क्षति पुर्याएको अपर तामाकोशी, मलम्बी क्षेत्र लगायत प्रभावित आयोजना पनि पुनः सञ्चालनमा आएको छ ।
22.58¡ÆC