
काठमाडौ । एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ ।
आज शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले । शिवांश बजगाइले २० रन बनाएका थिए ।
एक समय ४०–१ को अवस्थामा रहेको नेपालले निरन्तर विकेट गुमाउँदा ५८–५ को अवस्थामा पुगेको थियो । त्यसपछि जोय र शुभम खनाल मिलेर साझेदारी बनाएका थिए । नेपालको स्कोर ९१–६ हुँदा शुभम १६ रनमा आउट भएपछि फेरि नेपाल ९२–८ को अवस्थामा पुग्यो ।
त्यहाँबाट जोयले लगातार तीन चौका पनि प्रहार गर्दै अभय यादवसँग मिलेर साझेदारी बनाए। अभयले विजयी छक्का नै प्रहार गरेका थिए ।
सिंगापुरका कपिश भेनकटरमनले ४ विकेट लिएपनि टोलीको जितको लागि भने पर्याप्त भएन । युवान पाण्डेले २ विकेट लिए । आकाश तेजा र वेदांश गुप्ताले १–१ विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भएको थियो ।
सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले ९० भन्दा धेरै बल खेलेका थिए । रिहान नाइकले १५ रन बनाए ।
नेपालका लागि अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । त्यस्तै सुशिल बहादुर रावलले पनि ३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए । नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो । सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो ।
नेपालले यसअघि सन् २०२३ मा भएको इस्ट जोन कपको उपाधि जितेको थियो । त्यसअघि एसीसीले यू–१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गर्दै आएको थियो र नेपालले २०१७ र २०१९ मा पनि लगातार उपाधि जितेको थियो ।
13.12¡ÆC