साततले दरबार पुर्ननिर्माणको लागी आइतबारबाट भत्काउन थालिने

असार ७, २०८२ मा प्रकाशित | 315 views


नुवाकोट । दश वर्ष अघि गएको विनासकारी भूकम्पले क्षति पुगेपछि पुर्ननिर्माणको लागी नुवाकोटको साततले दरबार (दुर्गरत्न) आइतबारदेखि भत्काउन थालिने भएको छ ।

चिनियाँ कम्पनी मार्फत पुर्ननिमार्ण भइरहेको दरबारको पुर्ननिर्माण अघिको पूर्वतयारीको प्राविधिक काम सम्पन्न भएकाले आइतबारदेखि भत्काउन लागिएको हो ।

त्यसको लागी असार ८ गते आइतबार दिनको १ बजेबाट सुरु गरिने जानकारी चिनियाँ पक्षले गराएको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार दरबार पुर्ननिर्माणको क्रममा पुर्ननिर्माण, प्रबलीकरण के गर्ने भन्ने सम्बन्धमा दरबार भत्काउदै गएपछि मात्र थाहा हुने जानकारी चिनियाँ पक्षले गराएका छन् ।

अहिलेको प्राविधिक अध्ययन अनुसार दरबारको जग तहदेखि तेश्रो तलासम्मको संरचना सुरक्षित रहेको पाइएको छ । यद्यपी, दरबार भत्काउदै जाने क्रममा गरिने प्राविधिक अध्ययन पश्चात दरबारलाई पूरै भत्काइने अथवा क्षतिग्रस्त तलाहरु हटाएर सोही स्थानबाट निर्माण सुरु गरिने निर्णय हुनेछ ।

भूकम्प पछिको पुर्ननिर्माणको क्रममा चिनियाँ सहयोग अन्तरगत चिनियाँ निर्माण कम्पनी चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज मार्फत यहाँको साततले दरबार सहितको थप आठवटा संरचनाको पुर्ननिर्माणको काम भइरहेको छ ।

सोही कम्पनीले पुर्ननिर्माणको क्रममा भूकम्पले पूर्ण क्षति पुराएको तुलजा भवानीको मन्दिर (तलेजु दरबार) को संरचना भने पूरै भत्काएको छ । सोही स्थानमा अब पहिलाको जस्तै नयाँ निर्माण गर्न थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web