पृथ्वीनारायण शाह र उहाँको दुई श्रीमतिको शालिक नुवाकोटमै बस्यो

असार ४, २०८२ मा प्रकाशित | 852 views


नुवाकोट । साततले दरबार नुवाकोटमा रहेको राष्टनिर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाह र उहाँको दुई श्रीमति इन्द्रकुमारी देवी र नरेन्द्र राज्य लक्ष्मीको शालिक (मूर्ति) यही बस्ने भएको छ ।

साततले दरबार पुर्ननिर्माणको क्रममा दरबार भत्कने र त्यसपछि शालिकको सुरक्षाको कारण देखाई काठमाडौ लैजान भन्दै आएको पुरातत्व विभागको टोलीलाई नुवाकोटबासीले खाली हात फर्काइदिएको हो ।

विभागबाट गाडी सहित शालिक लिन आएको टोलीलाई विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ र वडा नं २ स्थित नुवाकोट दरबार क्षेत्रका स्थानीयबासीले खाली हात पठाइदिएका छन् । गाडीमा शालिक राख्ने तयारीमा रहेको विभागको टोलीलाई स्थानीयबासीले लैजान नपाइने भनेर अबरोध गरे । तर, विभागले सुरक्षाको कारण र पुरातत्वको मपादण्ड देखाउदै लैजाने अटेर गरिरह्यो । अनि स्थानीयबासीले नगरप्रमुखलाई गुहारे ।

काम विशेषले विदुर–११ स्थित दुधेलामा पुग्नु भएका नगरप्रमुख श्रेष्ठ सिधै दरबार क्षेत्र पुग्नुभयो र स्थानीयबासीलाई साथ मात्र दिनुभएन विभागको टोलीलाई शालिकको सुरक्षा, संरक्षण र व्यवस्थापनमा आफूहरु अझै धेरै गम्भीर भएर लागेको बताउनुभयो ।

नगर प्रमुख श्रेष्ठको साथ पाएपछि स्थानीयबासी थप अग्रसर हुदै पृथ्वीनारायण शाह र उहाँको दुई श्रीमति इन्द्रकुमारी देवी र नरेन्द्र राज्य लक्ष्मीको ढलोटका शालिक (मूर्ति)हरु यही राख्ने भनेर अडानमा रहे । नगर प्रमुख श्रेष्ठले सुरक्षाको लागी दरबार परिसरमा नेपाली सेना र प्रहरी रहेकाले पुरातत्व विभागको जिल्ला कार्यालय रहेको दरबार हेरचाह कार्यालयमा राख्न सकिने र त्यसको विकल्पमा नगरपालिकाको कार्यालयमा नै ल्याएर राख्ने अडान लिनुभयो ।

नगरप्रमुख श्रेष्ठको अडान, स्थानीयबासीको दबाबले यो पटक पृथ्वीनारायण शाह र उहाँको दुई श्रीमतिको शालिक यही कायम रहेको छ । विभागबाट आएको टोलीले सरोकारवालाहरुसंग थप छलफल गरेर निर्णय लिने भन्दै खाली हात फर्किएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web