विदुर नगर कार्यपालिकाको टिमबाट दुधेलामा-गढी अवलोकन

असार ४, २०८२ मा प्रकाशित | 1010 views


नुवाकोट । विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ सहित नगर कार्यपालिकाको टिमबाट आज दुधेलामा गढी सहित यस आसपासमा रहेका ऐतिहासिक गढीहरुको अवलोकन गरिएको छ ।

वडा नं ११ को कार्यालयको आयोजनामा नगरप्रमुख श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुबाट दुधेलामा र कालिका सहित यसआसपासको गढीहरुको स्थलगत अवलोकन र त्यस स्थानमा भइरहेको पदमार्ग, सिढी निर्माणको कामको अवलोकन निरीक्षण गरिएको हो ।

अवलोकनको क्रममा योजना शाखा प्रमुख हरिप्रसाद प्याकुरेल, प्राविधिक शाखा प्रमुख उत्तम शाह सहित उक्त शाखाको कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

अवलोकन पश्चात आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख राजन श्रेष्ठले दुधेलामा, कालिका सहित यस आसपासका गढीको लागी चालु आर्थिक वर्षमा तीनतहबाट नै बजेट प्राप्त भएकोमा यो वर्ष कहीबाट नपरेकाले नगरपालिकाको क्षमता अनसार सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

दुधेलामा कालिका सहित यहाँको गढीहरुको संरक्षण एंव पुर्ननिर्माणको लागी नगरपालिकाले बनाएको डिपिआर अनुसार १० करोड बजेट आवश्यक पर्ने भएकाले पालिकाबाट केही सम्बोधन हुने र क्रमश लक्ष्य पूरा गर्नको लागी लागिपर्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाले आगामी वर्षदेखि सम्पदा शाखा नै स्थापना गरेर सञ्चालन गर्न लागिरहेको हुदाँ सस्कृति र सम्पदाको संरक्षणमा प्राथमिकता दिने उहाँको भनाई छ ।

नगर उपप्रमुख प्रभा बोगटीले नगरपालिकाले लिएको नीति तथा कार्यक्रम अनुरुप योजना तर्जुमा गर्दै आइरहेको र धर्म, सँस्कृति, सम्पदा र पर्यटकीय क्षेत्रलाई प्राथमिकता दिइरहेको उल्लेख गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेलले स्थानीय सरकारले स्थानीय जनताको चाहना अनुरुप काम गर्ने भएकाले स्थानीय जनताको आस्थाको शीर र सम्पदा प्रतिको आकर्षण भएकाले सोही अनुसार संरक्षणमा सहयोग हुने बताउनुभयो ।

१ नं अध्यक्ष लेनिन रञ्जितले पालिका भित्र रहेका महत्वपूर्ण धार्मिक स्थल, साँस्कृति सम्पदा संरक्षणको लागी कार्यपालिका टिमबाट हुने निर्णयमा आफ्नोतर्फबाट पूर्ण साथ हुने प्रतिबद्धता जनाउनुभयो ।

आयोजक ११ नं को वडाध्यक्ष बाबुराम तामाङले दुधेलाम, कालिकाको लागी विगतको वर्षमा संघ, प्रदेस र स्थानीय सरकारको तर्फबाट प्राप्त बजेटको सदुपयोग गर्दै काम भइरहेकाले यो वर्ष माथिल्ला दुई निकायबाट बजेट नआएकाले नगरपालिकाबाट उच्च प्राथमिकता दिनुपर्ने माग गर्नुभयो । असार १० भित्र नगरले ल्याउने बजेटमा दुधेलामा, कालिका र यहाँ रहेका गढीहरुको लागी कम्तिमा एक करोड बजेटको आशा राखेको उहाँले प्रस्ताव गर्नुभएको छ ।

आसन्न बजेट तयारीलाई केन्द्रित गर्दै ११ नं वडा कार्यालयले नगर कार्यपालिका टिमलाई उक्त स्थानमा अवलोकन एंव निरीक्षणको जोहो मिलाएको हो ।

हाल दुधेलामा, कालिका, दुधेगढी सहित यसआसपासमा रहेका जितगढी, चन्द्रगढी, विजय गढी गेर्खुगढीमा रहेका गढीहरुको पनि अवलोकन गरिएको छ ।

मुख्य दुईगढी दुधेगढी सहित विभिन्न पाचवटा गढी विदुर–११ मा अवस्थित रहेको छ भने सोही श्रृङ्खलामा अवस्थित रहेको सूर्यगढी भने यही गढीबाट नामाकरण गरिएको सूर्यगढी गाँउपालिकामा अवस्थित रहेको छ ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामाजिक क्षेत्रका व्यक्तित्व लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web