नेपाललाई ३२४ रनको बलियो लक्ष्य

जेष्ठ २५, २०८२ मा प्रकाशित | 167 views


काठमाडौँ । कप्तान रिची बेरिङटनको शतक तथा माइकल लिस्कले विस्फोटक फिनिसिङ गर्दै अविजित ९६ रन बनाएपछि आईसीसी क्रिकेट विश्वकप लिग २ मा स्कटल्याण्डसँगको खेल जित्न नेपालले बलियो लक्ष्य पाएको छ ।

डुन्डीमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रन बनाउँदै नेपाललाई ३२४ रनको बलियो लक्ष्य दिएको हो । यो नेपालले एसोसियट राष्ट्रसँग बेहोरेको सबैभन्दा उच्च योगफल हो ।

कप्तान रिची बेरिङटनले ११४ बलमा ६ चौका र ४ छक्का मद्दतले १०२ रनमा रनआउट भए । माइकल लिस्क ६२ बलमा १२ चौका र ३ छक्कासहित ९६ रनमा अविजित रहे । ओपनर चार्ली टियरले ६८ रन बनाए ।

नेपालका लागि करण केसीले १० ओभरमा २ मेडन राख्दै ७४ रन खर्चेर २ विकेट लिए । दिपेन्द्रसिंह ऐरीले ७ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । त्यस्तै ललित राजवंशीको नाममा १ विकेट रह्‍यो ।

नेपालले यसअघि पहिलो खेलमा स्कटल्याण्डलाई हराएको थियो । त्यसपछिको दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पनि हराएको थियो ।

लिग २ मा १४ खेल खेलेको नेपाल १० अंकसहित सातौंमा छ । स्कटल्याण्ड १६ खेलबाट २० अंक जोडेर चौथो स्थानमा छ ।

लिग २ मा ८ एसोसिएट टोलीले प्रतिस्पर्धा गरिरहेका छन् र शीर्ष चार टोलीले सन् २०२७ को ओडिआई विश्वकपको छनोटमा सोझै स्थान बनाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web