लामो र छोटो दूरीका सार्वजनिक गाडी नचल्दा यात्रु समस्यामा

जेष्ठ १९, २०८२ मा प्रकाशित | 134 views


काठमाडौँ । आज काठमाण्डौ उपत्यकासहितका सडकमा लामो र छोटो दूरीका सार्वजनिक गाडी चलेका छैनन् ।

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ अर्थात निजी गाडीलाई पनि यात्रु बोक्न वैधानिकता दिएको विरोधमा यातायात व्यवसायीले सार्वजनिक गाडी नचलाएका हुन् ।

बस, माइक्रोबस, ट्याम्पो जस्ता सार्वजनिक गाडी नचल्दा काम विशेषले गन्तव्यमा पुग्नुपर्ने यात्रुलाई सास्ती भएको छ । बिरामी, बृद्धबृद्धा, विद्यार्थी र कर्मचारीले अझै धेरै सास्ती खेप्नुपरेको छ ।

कोही सडक छेउमा उभिएर बसको प्रतीक्षा गरिरहेका देखिन्छन् भने कोही निजी गाडीमा चढेर र कोही पैदलै हिँडिरहेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ, ढुवानी व्यवसायी महासङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ लगायतले संयुक्त रुपमा सार्वजनिक यातायात बचाउ केन्द्रीय समिति गठन गरेर आन्दोलन गरेका हुन् ।

उनीहरुले आजदेखि अनिश्चितकालका लागि देशभर सार्वजनिक गाडी नचलाउने घोषणा गरेका छन् । सार्वजनिक यातायात क्षेत्र नै विस्थापित हुने अवस्था आएपछि आन्दोलन गर्नुपरेको व्यवसायीहरुको तर्क छ ।

सार्वजनिक बस र ट्याक्सी चालकहरुले आफ्नो रोजीरोटी खोसिएको र व्यवसाय नै डुब्न थालेको गुनासो गरेका छन् । तर पठाओ, इनड्राइभजस्ता राइड सेयरिङले यात्रुलाई सहज बनाएको छ भने त्यसरी सेवा दिने युवाले देशभित्रै रोजगारी पाएका छन् ।

गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन फेरि आह्वान गरेको छ । प्रदेश सरकराले यसअघि बुधवार वार्तामा बोलाएकामा यातायात व्यवसायीहरु वार्तामा गएका थिएनन् ।

यातायात व्यवसायीसँग छलफलका लागि यातायात मन्त्रालयका सचिवको संयोजकत्वमा अधिकार सम्पन्न पाँच सदस्यीय वार्ता टोली गठन गरिसकेको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकारले ल्याएको कानूनबाट कुनै पनि पक्षलाई असर पर्न गएको अवस्थामा खुला छलफल गर्न प्रदेश सरकार सधैँ तयार रहेको प्रदेश सचिव एवं वार्ता समिति संयोजक इञ्जिनियर कमलकुमार अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web