नेपालले बहराइनलाई ९ विकेटले हरायो

बैशाख २७, २०८२ मा प्रकाशित | 163 views


काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप सन् २०२६ को एशिया छनोटमा नेपालले आज भएको खेलमा बहराइनलाई ९ विकेटले हराएको छ ।

आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बहराइनले नेपाललाई जीतका लागि ४२ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले ४ ओभर २ बलमा एक विकेट गुमाएर भेट्टायो ।

आजको खेलमा नेपालकी कविता कुँवरले ११ बलमा सर्वाधिक १८ रन बनाइन् । उनी रन आउट हुन पुगिन् । सम्झना खड्काले १० बलमा अविजित १३ रन र इन्दु बर्माले ५ बलमा ७ रन बनाइन् । बहराइनले निर्धारित ५ ओभरमा एक विकेट गुमाएर ४१ रन बनाएको थियो ।

खेल ढिलो शुरू भएका कारण ५ ओभरमा झारिएको थियो । यसअघि हिजोको खेलमा मैदान ओसिलो भएका कारण खेल हुन नसकेपछि नेपाल र हङकङले एक/एक अङ्क बाँडेका थिए ।

नेपालको दुई खेलमा तीन अङ्क भएको छ । एशिया छनोटमा नेपालसँगै आयोजक थाइल्याण्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।

नेपाल रहेको समूह ‘सी’मा बहराइन र हङकङ छन् । नेपालले अब मङ्गलवार फेरि हङकङसँग र बुधवार बहराइनसँग खेल्ने तालिका छ ।

हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेलेपछि समूहको शीर्ष टोलीले सुपर–३ मा स्थान बनाउनेछ । सुपर–३ बाट शीर्ष दुई टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web