विदुरले गर्यो राष्ट्रपति रनिङ शिल्डका पदक बिजेता खेलाडीलाई सम्मान

बैशाख २५, २०८२ मा प्रकाशित | 423 views


नुवाकोट । १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विदुर नगरपालिकालाई प्रथम बनाउन विभिन्न पदक बिजेता भएका खेलाडीलाई विदुर नगरपालिका सम्मान गरेको छ ।

पञ्चकन्या गाँउपालिका–४ घ्याङस्वारामा हालै सम्पन्न भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो पटक विदुरलाई रनिङ शिल्ड बिजेता बनाउन सफल भएको भन्दै पदक बिजेता खेलाडी सहित खेलको विधागत प्रशिक्षक र नगर खेलकुद विकास समितिका पदाधिकारीलाई सम्मान गरिएको हो ।

प्रतियोगिता अन्तरगत पहिलो भएका खेलाडीलाई नगद ५ हजार, दोश्रो भएको खेलाडीलाई नगद ३ हजार र तेश्रो भएको खेलाडीलाई एक हजार पाच सय सहित सम्मान पत्रले नगरप्रमुख राजन श्रेष्ठले सम्मान गर्नुभएको हो । विभिन्न विधामा ३८ पदक बिजेता भएका ६० जना खेलाडीले सम्मानित भएका छन् । प्रतियोगितामा शहीद प्रकाशंजंग शाह सँस्कृति माध्यमिक विद्यालयमा अध्ययनरत सेविका प्याकुरेलले चार पदक बिजेता हुनुभएको थियो ।

उक्त अवसरमा उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, १ नं अध्यक्ष लेनिन रञ्जित, २ नं अध्यक्ष दीपक कायस्थ, नगर खेलकुद विकास समितिका संयोजक अच्युतराज महन्थगिरी सहित समितिका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

१४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बिदुर नगरपालिकाले १७ स्वर्ण ५ रजत र १६ कास्य गरेर कुल ३८ पदक सहित पहिलो स्थान हासिल गर्दै विदुरलाई पहिलो पटक च्याम्पियन बनाएर ईतिहास कायम गरेको भन्दै नगरप्रमुख श्रेष्ठले आगामी दिनमा अझै उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई आग्रह गर्नुभयो ।

उहाँँले खेल क्षेत्रको विकासको लागी आगामी आर्थिक वर्षमा नीति तथा कार्यक्रम एंव बजेट बक्तव्यमा नै सम्बोधन गर्ने प्रतिबद्धता जनाउदै खेल क्षेत्रको विकासको लागी खेलाडी र पूर्वाधार निर्माणमा आफू बिजय भएर आए पश्चात नै प्राथमिकता दिएको उहाँको भनाई छ ।

प्रत्येक वडामा एक–एक खेल मैदान बनाउने, क्रिकेट रङ्गशाला निर्माणको तयारमा रहेको, फूटबल मैदानलाई व्यवस्थित गर्दै अघि बढेको उदाहरण दिदै नगरप्रमुख श्रेष्ठले खेलाडीलाई खेलेर नै जिविकोपार्जनमा केन्द्रित गराउन लागिरहेको हुदाँ खेलबाट नै आफ्नो भविष्य उज्वल देख्न आग्रह गर्नुभयो ।

खेलाडी सम्मान कार्यक्तममा उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, १ नं अध्यक्ष लेनिन रञ्जितले नगरको विकासको लागी खेलकुद पनि अपरिहार्य शर्त रहेकाले खेल क्षेत्रको विकास, खेलाडीलाई प्रोत्साहन, पूर्वाधार निर्माणमा नगरपालिकाले हरेक वर्ष बजेटको आधार बृद्धि गर्दै आइरहेको जानकारी दिनुभयो । 

खेल क्षेत्रको लागी विदुर नगरपालिकाले प्राथमिकता दिदै आएकाले सोही अनुसार खेलाडीहरुलाई पनि मिहेनत गरेर सफलता प्राप्तीको लागी लाग्न अनुरोध गर्नुभयो । खेलाडीको विकास र खेल पूर्वाधार निर्माणमा नगरले आवश्यक बजेट उपलब्ध गराउनको लागी जोड दिने उहाँहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web