विदुरमा कक्षा ५ र कक्षा ८ को परीक्षा नगरस्तरीय

चैत्र ३, २०८१ 2025-03-17 मा प्रकाशित
Published at 2025-03-17

201 views

त्रिशूली । विदुर नगरपालिकाले कक्षा ५ को परीक्षा पनि नगरपालिकास्तरीय रुपमा सञ्चालनमा ल्याएको छ । गत शैक्षिक सत्रमा कक्षा ८ को परीक्षा नगरस्तरीय बनाएकोमा नगरप्रमुख राजन श्रेष्ठको योजना अनुरुप यो शैक्षिक सत्रदेखि कक्षा ५ को परीक्षा पनि नगरस्तरीय सञ्चालनमा ल्याइएको हो ।

नगरप्रमुख श्रेष्ठले पालिकास्तरीय परीक्षा सञ्चालन मार्फत नगरभित्रका सम्पूर्ण विद्यार्थीहरुको शैक्षिक गुणस्तरको अबस्था समान बनाउन, तल्लो तहकक्षा देखि नै पालिकास्तरीय बनाएसगैँ अर्को विद्यालयमा गएर परीक्षा दिदाँ विद्यार्थीमा हुनेसक्ने त्रास हटाउन, विद्यार्थी र विद्यालयको शैक्षिक गुणस्तरको मापन निर्धारण लगायतको एकीन गर्नको लागी नगरस्तरीय परीक्षा चलाउन थालिएको जानकारी दिनुभयो ।

यस शैक्षिक सत्रदेखि कक्षा ५ को परीक्षालाई नगरस्तरीय बनाइएको छ । तर, स–साना उमेरका विद्यार्थीलाई अर्को विद्यालयसम्म परीक्षा दिन आउजाउ गर्दा समस्या हुने, अर्को विद्यालयमा परीक्षा दिन जादा हतोत्साहित हुनसक्ने लगायतलाई मध्ये नजरगर्दै यस पटक कक्षा ५ को विद्यार्थीको लागी भने परीक्षा केन्द्र होम सेन्टर (विद्यार्थीले अध्ययन गरेको विद्यालय)मा नै कायम गरिएको छ ।

कक्षा ५ को लागी नगरभित्र सञ्चालित आधारभूत र मावि तहको गरेर ५९ वटा विद्यालयलाई नै परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षा सञ्चालनको लागी नगरपालिकाले केन्द्राध्यक्ष चयन गरेर प्रत्येक विद्यालयमा अर्को विद्यालयको शिक्षकलाई केन्द्राध्यक्ष तोकेर खटाएको छ भने कम्तिमा २० जना विद्यार्थीको लागी एक जना परीक्षा निरीक्षक खटाइएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार कक्षा ८ को विद्यार्थीको लागी भने नजिकै पर्ने अर्को विद्यालयमा परीक्षा केन्द्र कायम गरिएको छ ।

कक्षा ८ को का विद्यार्थीलाई नगरभित्रको विभिन्न ११ वटा परीक्षा केन्द्र कायम गरिएको छ । कक्षा ५ र ८ को प्रश्नपत्र नगर परीक्षा सञ्चालन समिति मार्फत सबै विद्यालयमा एउटै उपलब्ध गराइएको छ । परीक्षा सम्पन्न पश्चात नगरस्तरीय परीक्षा सञ्चालन समितिले उत्तरपुस्तिका संकलन गर्ने, कोडिङ र डिकोडिङ गर्ने, उत्तरपुस्तिका जाँच गर्ने र नतिजा सार्वजनिक गर्ने नगरप्रमुख श्रेष्ठको भनाई छ । गत शैक्षिक सत्रमा कक्षा ८ को नतिजा अपेक्षा अनुसारको नपाएसगैँ शिक्षक र विद्यार्थीले शिक्षाको गुणस्तर बृद्धिमा सक्रिय भएर लागिरहेको र यसमा अभिभावकले समेत चासो दिइरहेको अबस्थामा यस वर्षदेखि कक्षा ५ को परीक्षालाई पनि विदुर नगरपालिकाले नगरस्तरीय बनाई कुन विद्यालयको शिक्षाको अबस्था के–कस्तो रहेछ भनेर मापन गर्न नगरस्तरीय परीक्षालाई महत्वको रुपमा लिइएको छ ।

सोमबारदेखि सुरु भएको परीक्षामा नगरप्रमुख श्रेष्ठले विदुर नगरपालिकाको वडा नंं १, ८ र ९ मा रहेका विभिन्न दश वटा विद्यालयको अनुगमन समेत गर्नुभएको छ । सम्बन्धित वडाको वडाध्यक्षहरुको साथमा परीक्षा सञ्चालन समितिका सदस्य सुनिल श्रेष्ठ, पत्रकार सहितको अनुगमनको क्रममा परीक्षा व्यवस्थित, मर्यादित र विद्यार्थीको उत्साहजनक वातावरणमा सञ्चालन भइरहेको पाइएको हो ।

यस्तै, नगरको उपप्रमुख प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले पनि छुट्टाछुट्टै अनुगमन टोली लिएर पालिका भित्रको विभिन्न विद्यालयको अनुगमन गर्नुभएको छ ।

मंगलबारदेखि परीक्षा केन्द्र रहेको वडाको सम्बन्धित वडाध्यक्षलाई नै परीक्षाको अनुगमनको जिम्मेवारी दिइएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.