वुमन्स डे कपमा नेपाल हङकङसँग २ रनले पराजित

फाल्गुन २६, २०८१ मा प्रकाशित | 281 views


काठमाडौँ । युगाण्डामा जारी वुमन्स डे कप टी-२०आई प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले हङकङसँग हार व्यहोरेको छ ।

नेपाल हङकङसँग २ रनले पराजित भएको हो । हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो ।

कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन बनाउँदै १९औं ओभरको अन्तिम बलमा आउट भएकी थिइन् । अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक रहँदा नेपालले ७ रन मात्र जोड्न सक्यो ।

पुजा महतोले १९ तथा बिन्दु रावलले १४ रन बनाइन् । हङकङका लागि मारिको हिलले २ तथा सिउ मे वाइ र चान या किनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपालसामू १०१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । हङकङले २० ओभरमा ७ विकेट गुमाएर १०० रन बनाएको हो ।

हङकङका लागि कप्तान नताशा माइल्सले सर्वाधिक ३५ रन बनाइन् । मारिको हिलले २१ रन बनाइन् ।

नेपालका लागि ईश्वरी विष्ट र कप्तान इन्दु बर्माले २-२ विकेट लिँदा रचना चौधरी र पुजा महतोले १-१ विकेट लिए ।

यसअघि शनिबार भएको पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपालले आइतबार युगाण्डालाई हराएको थियो ।

हङकङले भने सुरुवाती खेलमा युगाण्डासँग पराजित भएपनि नामिबियालाई दोस्रो खेलमा हराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web