सामुदायिक विद्यालय सुधारको जिम्मा समुदायकै हातमा : मुख्यमन्त्री तामाङ

फाल्गुन २३, २०८१ मा प्रकाशित | 249 views


बाघखोर । बागमती प्रदेसका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले सामुदायिक विद्यालय सुधारको जिम्मेवारी समुदायको हातमा रहेको बताउनुभएको छ ।

यहाँको बेलकोटगढी नगरपालिका–९ बाघखोर स्थित महादेव माविको ४९ औँ बार्षिकोत्सवलाई आज (शुक्रबार) सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सामुदायिक विद्यालय सुधारका लागी सरकारले प्रशस्त लगानी गरेको हुदाँ सुधार र गुणस्तरको जिम्मा समुदायको हातमा रहेको बताउनुभयो ।

“सामुदायिक विद्यालयमा चाहिने सुबिधासम्पन्न भौतिक संरचना र आयोगबाट सिफारिस भएका दक्ष शिक्षक उपलब्ध गराई विद्यार्थीलाई पोषाक, खाजा, पाठ्यपुस्तक, छात्रबृत्ति सहित आवश्यक सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराएका छौ ।” उहाँले भन्नुभयो “शिक्षाको गुणस्तर भने आशा अनुसार सुधार गर्न सकिएको छैन ।

विद्यालय नियमनको पहिलो जिम्मेवारी पाएको समुदायको भूमिका प्रभावकारी बनाउन लाग्नु पर्दछ ।” सामुदायिक विद्यालयको सुधारको लागी तीनतहमा रहेका सरकार र दातृ निकायको समेत सक्रियता भएपनि सँस्थागत विद्यालयसंगको प्रतिस्पर्धामा अगाडी ल्याउन नसक्नुमा त्यसको जिम्मेवारी समुदायले लिनुपर्ने मुख्यमन्त्री तामाङको भनाई छ ।

प्रदेस सरकारले विद्यालयको लागी माग अनुसार शिक्षक, विद्यालय नर्स, खाजा कार्यक्रम, भौतिक संरचना, प्रविधिमैत्री अध्यापनमा लगानी गर्दै आएकाले त्यसलाई आगामी दिनमा थप निरन्तरता दिने उहाँले प्रतिबद्धता जनाउनुभयो । तर, त्यसका लागी समुदायले शिक्षाको गुणस्तर सुधारमा भने ध्यान दिनुपर्ने उहाँको शर्त छ ।

“शैक्षिक सँस्थाहरुलाई बेरोजगार उत्पादन गर्ने केन्द्र भको आरोप छ । उच्च शिक्षा अध्ययन गरेका अधिकांश जनशक्तिसंग समेत सिपको अभाव छ ।” उहाँले भन्नुभयो “शिक्षासगैँ सिपयुक्त तालीम, नैतिकता, सँस्कृति र देशप्रतिको लगनशीलता पनि सिकाउनु पर्दछ ।” विद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउन सके शिक्षाको गुणस्तर बृद्धि गर्न सकिने मुख्यमन्त्री तामाङको विश्वास छ । त्यसको लागी व्यवस्थापन समितिको गठन र विद्यालय सञ्चालनलाई पारदर्शी, निश्पक्ष र दलीय प्रभावबाट बचाउन उहाँले सुझाब दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोककुमारी भट्टको सभापतित्वमा आयोजित कार्यक्रममा बेलकोटगढी नगरपालिकाको नगरप्रमुख जगतबहादुर गुरुङ, उपप्रमुख शिवप्रसाद दाहाल सहित विभिन वडाको वडाध्यक्षहरु, स्थानीय शिक्षाप्रेमी, बुद्धिजिवी, दलिय प्रतिनिधि एव जनप्रतिनिधिको सहभागिता रहेको विद्यालयका प्रधानध्यापक नमराज लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web