केही गर्छु भन्ने युवालाई नेपालमा नै प्रशस्त अवसर छ : नेका प्रवक्ता डा.महत

फाल्गुन २३, २०८१ मा प्रकाशित | 325 views


बट्टार । नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा.प्रकाशशरण महतले आर्थिक उपार्जन र सुनिश्चित भविष्यको लागी नेपालमा प्रशस्त अवसर रहेको बताउनुभएको छ ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ३९औँ बार्षिकोत्सवलाई शुक्रबार सम्बोधन गर्दै श्रम गर्ने उमेरका नेपाली युवा रोजगारको खोजीमा विदेश जाने लहरलाई इंकित गर्दै उहाँले विदेश जान लाग्ने खर्चको लगानी र त्यहाँ गर्ने श्रम यहीँ (स्वदेशमा) गर्न आग्रह गर्नुभयो ।

“नेपालका विश्वविद्यालयको शिक्षाको गुणस्तर अब्बल छ । उच्च शिक्षा अध्ययनको लागी विदेश नै जानुपर्छ भन्ने मानसिकता त्यागेर त्यो लगानी यहीँ गरेर उद्यमी बन्नुपर्छ ।” पूर्व अर्थमन्त्री महतले भन्नुभयो “विदेशमा गर्ने श्रम र दिने समय नेपालमा दिन सकेमा त्यहाँ हुनेभन्दा आम्दानी यहाँ कम हुदैन । मिहेनत र श्रम गर्नेको भविष्य स्वदेशमा नै सुनिश्चित छ ।”

देशको राजनीतिक अस्थिरता अन्त्य गर्दै स्वदेशमा लगानीमैत्री वातावरण तयार हुदै आएको उहाँको भनाई छ । सामाजिक सञ्जालमा आउने सन्देश समाजमा भ्रम फैलाउने र भड्काउने शैलीमा केन्द्रित हुदै आएकाले यथार्थ सूचना प्राप्तीको लागी मूलधारका सञ्चार माध्यमको प्रयोग गर्न प्रवक्ता महतले आग्रह गर्नुभयो ।

“देशमा केही हुन्न, केही भएको छैन भन्नेहरुले समाज भड्काईरहेका छन् ।” उहाँले भन्नुभयो “यहीँ केही गर्छु भन्ने जोश भएकालाई सम्भावनाको प्रशस्त अवसर छ । देशको विकास र आर्थिक समृद्धिको लागी अहिलेका युवाले जिम्मेवारी लिन लाग्नुपर्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web