बालबालिकाको क्यान्सरमा प्रयोग हुने औषधि ४ वटा अस्पतालबाट निःशुल्क वितरण गर्ने

फाल्गुन ८, २०८१ मा प्रकाशित | 309 views


काठमाडौँ । सरकारले क्यान्सर पीडित बालबालिकाको उपचारका लागि चार वटा अस्पतालबाट निःशुल्क औषधि उपलब्ध गराउने भएको छ ।

काठमाण्डाैकाे कान्ति बाल अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र चितवनको बीपी कोइराला क्यान्सर अस्पतालबाट निःशुल्क औषधि वितरण हुने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो ।

तीन महिना अघिदेखि नै निःशुल्क औषधि वितरण शुरू भएकोमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लगायत संस्थाहरूले औषधि उपलब्ध गराएपछि थप सहज भएको मन्त्री पाैडैलले बताउनुभयो । औषधिको वितरण मन्त्रालयको समन्वयमा स्वचालित प्रणालीबाट व्यवस्थित गरिने उहाँकाे भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले औषधि आवश्यकताका आधारमा वितरण गर्ने व्यवस्था मिलाउने बताउनुभयो । ‘ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन’ ले आउँदो पाँच वर्षका लागि ३५ प्रकारका अत्यावश्यक औषधि उपलब्ध गराउने भएको छ । यी औषधि बाल क्यान्सर उपचारका लागि महत्त्वपूर्ण छन् ।

नेपालमा हरेक वर्ष झन्डै एक हजार पाँच सय जना बालबालिकामा क्यान्सर देखिने गरेको छ । सेवामा सीमित पहुँच र स्रोत अभावका कारण तीमध्ये झन्डै एक तिहाइले मात्र उपचार पाउने गरेका छन् । नेपालमा क्यान्सर पीडित बालबालिकाको बाँच्ने सम्भावना दर ३० प्रतिशत छ । विकसित देशमा यो दर ८० प्रतिशतभन्दा बढी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web