एच.पी.भी. खोप कार्यक्रम : बेलकोटगढीमा ९८ प्रतिशत उपलब्धि

फाल्गुन ५, २०८१ मा प्रकाशित | 297 views


बाघखोर । नुवाकोटको बेलकोटगढीमा महिलालाई हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले किशोरीहरूलाई लक्षित गरेर लगाइएको एचपीभी HPV (Human Papilloma Virus) नामक भाइरस विरुद्धको खोप कार्यक्रममा ९८ प्रतिशत सफलता प्राप्त भएको छ ।

राष्ट्रिय अभियान अन्तरगत बेलकोटगढी नगरपालिकामा यही माघ २८ गते सुरु भएर फागुन १ गतेसम्म बेलकोटगढी नगरपालिकामा सञ्चालन भएको खोप कार्यक्रममा लक्ष्यको ९८ प्रतिशत किशोरीलाई खोप लगाइएको स्वास्थ्य शाखा संयोजक सत्येन्द्र शाहले जानकारी दिनुभयो ।

उहाँको अनुसार पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि एच.पि.भि.खोप अभियानमा बेलकोटगढी नगरपालिकामा कक्षा ६ मा अध्ययनरत ३१३ जना छात्रा र कक्षा ७ देखि १० सम्म अध्ययनरत एक हजार १९७ जना र दश देखि १४ वर्षसम्मको विद्यालय नजाने १ जना छात्रा गरेर एक हजार ५११ जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो ।

सोही लक्ष्य अनुसार पालिकामा रहेको १३ वटा वडाको विभिन्न खोपकेन्द्रबाट प्राप्त तथ्याङ्क अनुसार एक हजार ४८१ छात्राहरुलाई खोप लगाइएकाले खोप कार्यक्रममा ९८ प्रतिशत सफलता प्राप्त भएको हो । कक्षा ६ मा अध्ययनरत ३१३ जनालाई र विद्यालय नजाने १० वर्ष उमेरका ४ जना सहित ३०० जनालाई खोप लगाइएको छ ।

यस्तै, कक्षा ७ देखि १० मा अध्ययनरत एक हजार १६४ जनालाई र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका १७ जना विद्यार्थी समेत गरेर एक हजार १८१ जनालाई खोप लगाइएको छ । 

लक्ष्य अनुसार उत्साहजनक रुपमा प्राप्त सफलतालाई जनप्रतिनिधि, स्वास्थ्यकर्मी, अभिभावक, विद्यालय परिवार, सेवा लिएका छात्राहरु र समग्रा पालिकाको सरोकारवालाहरु सबैको भूमिका रहेको प्रमुख प्रशासकीय अधिकृत हरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको अनुसार खोप कार्यक्रम सफल बनाउन उहाँ सहित नगरप्रमुख जगतबहादुर गुरुङ, उपप्रमुख शिवप्रसाद दाहाल, सम्बन्धित वडामा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र नगरसभा सदस्यहरुको निरन्तरतको सक्रियताले राष्ट्रिय अभियानको रुपमा सफलता निकाल्न सकिएको हो ।

खोप कार्यक्रम प्रभावकारी :
१० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई लक्षित गरेर सञ्चालन गरिएको खोप कार्यक्रममा उत्साहजनक सहभागिता र खोप लगाएपछि कोही छात्राहरुलाई पनि समस्या नभएको बेलकोटगढी स्वास्थ्य शाखाले जनाएको छ ।

खोप लगाउदा खोपको कारण केहीलाई स्वास्थ्य समस्या देखिन सक्ने, विभिन्न भ्रमहरुले सहभागिता कम हुनसक्ने लगायतको अनुमान गरेर सोही अनुसार प्रचारप्रसार सहित आवश्यक तयारी पूरा गरेर थालिएको खोप कार्यक्रममा अपेक्षा अनुसार उलेख्य सफलता प्राप्त भएको बेलकोटगढी नगरपालिकाको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभयो ।

खोप कार्यक्रमको सुरुवातको समयमा वडा नं. १ मा उहाँ आफै पुग्नुभएको थियो भने विभिन्न स्थानमा लगाइएको खोप कार्यक्रमको निरन्तर जानकारी लिदै कार्यक्रम सफल बनाउनको लागी महत्वको रुपमा लिएको उहाँको भनाई छ ।


महिलालाई हुने पाठेघरको मुखको क्यान्सरबाट जोगाउने उद्देश्यले किशोरीहरूलाई बेलकोटगढीमा पहिलो पटक एचपीभी नामक भाइरसविरुद्ध उक्त खोप कार्यक्रम चलाइएको थियो । सातवटै प्रदेशका केही जिल्लामा यो कार्यक्रम विगतमा सञ्चालन भएपनि नुवाकोटमा भने पहिलो पटक सञ्चालन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web