
काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-६ स्थित गौरिटार रंगशालाभित्र ११ करोड ७४ लाख रुपैयाँ लागतमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ ।
अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा ६ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित पाँच वटा पिच, ७० मिटर रेडिएसको मैदान, स्कोर बोर्ड, भीभीआइृपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, टीभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपक लामाले जानकारी दिए ।
त्रिकेट मैदानमा चार वटा ब्लकमा प्याराफिट निर्माण गर्ने डिपीआर निर्माण गरिएको र त्यसमध्ये हाल एउटा ब्लकको काम भइरहेको उनले बताए। क्रिकेट मैदान निर्माणका लागि रु नौ करोड ४२ लाख ८२ हजारमा २०८० चैत २० मा एसएनएस पिएल एचकेसी जेभीले ठेक्का लिएको थियो ।
उनका अनुसार हाल मैदान सम्याउने काम भइरहेको छ र अधिकांश बजेट मैदान बनाउनमै खर्च हुनेछ । मैदानको लेभल मिलाएपछि भूमिगत ढलमार्फत पानी पठाउन पाइप बिछ्याउने काम हुनेछ भने विभिन्न तहमा ग्राभेल, माटो बिछ्याउने उहाँले बताउनुभयो। मैदानको सबैभन्दा माथिल्लो भागमा बर्मुण्डा दुबो रहने लामाले बताए ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले हेटौँडा-६ स्थित गौरीटार रंगशालामा निर्माण भइरहेको क्रिकेट ग्राउण्डको स्थलगत अवलोकन गरेका थिए । क्रिकेटका लागि पूर्वाधार निर्माण भइरहेको प्रति खुशी व्यक्त गर्दै खड्काले चाँडै यहाँ राष्ट्रियस्तरको खेल खेलाउन सकिने उनले बताए ।
27.12¡ÆC