१९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

पुस २१, २०८१ मा प्रकाशित | 374 views

१९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि नेपाली टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा गरेको छ । मलेसियामा यही जनवरी १८ अर्थात आउँदो माघ ५ गतेदेखि शुरु हुने प्रतियोगिताका लागि क्यानले पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । उपकप्तानमा सोनी पाख्रिन छन् ।

गएको नोभेम्बरमा यूएईमा भएको आईसीसी १९ वर्षमुनिको महिला विश्वकप एशिया छनोटको उपाधि जित्दै नेपाल पहिलो पटक १९ वर्षमुनिको महिला विश्वकपकमा छनोट भएको थियो । जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित १६ देशको सहभागिता छ ।

नेपाल समूह ‘डी’ मा छ । यस समूहमा अष्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् । नेपालले पहिलो खेल माघ ५ गते बङ्गलादेशसँग, दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग र तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ । चारै समूहको शीर्ष तीन टोली सुपर सिक्स राउण्डमा पुग्नेछन् । जहाँ १२ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ ।

नेपालले समूह चरणमा एक खेल जितेर शीर्ष तीनमा रहन सके सुपर सिक्स पुग्दै थप तीन खेल खेल्ने अवसर पाउन सक्छ । १९ वर्षमुनिको महिला विश्वकपको यो दोस्रो संस्करण हो । नेपालले पहिलो पटक खेल्न लागेको हो ।

नेपाली टोलीमा सोनी पाख्रिन, किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो(कप्तान), कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web