बिपीको मेलमिलाप नीतिलाई राष्ट्रियता र विकाससंग जोड्नुपर्छ : मुख्यमन्त्री तामाङ

पुस १६, २०८१ मा प्रकाशित | 340 views

त्रिशूली । बागमती प्रदेसका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले नेपाली कांग्रेसका संस्थापक एवम् पूर्व प्रधानमन्त्री बिपी कोइरालाको मेलमिलाप नीतिलाई राष्ट्रियता र विकाससंग जोड्नुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस नुवकोट, अभिलेख शाखाको आयोजनामा मंगलबार बट्टारमा आयोजित ‘राजद्रोही राजनेता’ प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले बिपीले अपनाउनुभएको मेलमिलापको नीति अन्तरगत समाजवादले आर्थिक समानतामा जोड दिएको बताउनुभयो ।

“राजद्रोह सम्बन्धी विभिन्न आठवटा मुद्दाको सामना गरिरहेको समयमा बिपीले आफू सहित सहकर्मीहरुलाई भारतबाट नेपाल फर्काउनु उहाँको राष्ट्रियता प्रतिको उच्च सम्मान पाइन्छ ।” मुख्यमन्त्री तामाङले भन्नुभयो “कांग्रेसले अपनाउदै आएको आर्थिक सिद्धान्तको नीति पनि बिपीको समाजवाद हो । जसले समृद्धिको निर्माण, असमानताको अन्त्य र व्यक्तिको स्वतन्त्रताको ग्यारेण्टीमा केन्द्रित गराउछ ।”

अहिलेका युवा वर्गमा देखिएको विदेस जाने मोहलाई राष्ट्रियताको महत्वसंग र विकासका गतिविधिमा सबैको समान पहुँचको सुनिश्चित गराउन समाजवादको नीतिसंग जोडेर सरकार सञ्चालनमा आफूहरु केन्द्रित रहेको मुख्यमन्त्री तामाङको भनाई छ ।

राजद्रोहको अभियोग लगाएको समयमा मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्कनुलाई बिपीले जस्तोसुकै परिस्थितीमा पनि राष्ट्र र राष्ट्रियता प्रतिको महत्व देखाउनुभएको थियो । अहिलेका युवापिढीँमा यही (महत्व) बुझाउन सके देशमा परिवर्तन (विकास) गर्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस नुवाकोटको ‘एकसय दिने विशेष अभियान’ अन्तरगत राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा महामानव बिपी कोइरालाको जीवनीमा आधारित रहेको वृत्तचित्र ‘राजद्रोही राजनेता’को प्रदर्शनी गरिएको अभिलेख शाखाका संयोजक नारायणप्रसाद नेपालले जानकारी दिनुभयो ।

उक्त प्रदर्शनीको अवलोकन गर्न काँग्रेस नुवाकोटको सभापति रमेशकुमार महत सहित जिल्ला कार्यसमितिका पदाधिकारी, भातृसँस्थाका पदाधिकारी लगायतको सहभागिता थियो ।  

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web