तीनपटकको च्याम्पियन इंग्ल्याण्डमाथि नेपालको सानदार जित

कार्तिक १६, २०८१ मा प्रकाशित | 395 views


काठमाडौ । नेपालले हङकङमा भइरहेको २० औं हङकङ सिक्सेसमा तीन पल्टको च्याम्पियन इंग्ल्यान्डमाथि प्रभावशाली ६ विकेटको जित निकालेको छ।

नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै प्रतिष्ठित यस प्रतियोगितामा ऐतिहासिक जित निकाल्न सफल भएको हो।

नेपालले जितका लागि ९८ रनको लक्ष्य पाएकोमा नेपालले त्यसलाई बिना विकेटको क्षति हात पारेको थियो।

नेपालले ४ दशमलव २ ओभरमा बिना कुनै विकेटको क्षति ९९ रन बनायो र सनसनीपूर्ण ब्याटिङको नमुना पेस गर्‍यो। नेपालको जितमा सन्दीप जोरा नायक रहे। उनले १७ बलमा ७१ रन बनाए।

उनको ब्याटबाट पाँच चौका र आठ छक्का निस्केको थियो। यस्तै कप्तान लोकेश बमले ११ बलमा २० रन बनाए। उनले एक चौका र दुई छक्का प्रहार गरे।

नेपालले टस जितेर इंग्ल्यान्डलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। यसक्रममा इंग्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो।

त्यसमा सबैभन्दा ठूलो योगदान कप्तान रवि बोपाराको रह्यो। उनले १२ बलमा ४९ रन बनाए । उनले एक चौका र सात छक्का प्रहार गरे। यस्तै समित पटेलले १७ बलमा ३९ रन बनाए। उनले भने तीन तीन चौका र छक्का प्रहार गरे। अरू ब्याटरले भने गतिलो योगदान दिन सकेनन्।

नेपाली बलरमध्ये विवेक यादव र प्रतिश जीसीले दुई–दुई विकेट हात पारे। यस्तै नारायण जोशी र लोकेश बमको नाममा एक एक विकेट रह्यो। रसिद खान मात्र विकेट लिन नसक्ने बलर रहे।

नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ। यस समूहको तेस्रो टिम अस्ट्रेलिया रहेको छ। नेपालले अब शनिबार अस्ट्रेलियाको सामना गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web