जलन पीडितको निःशुल्क उपचार गर्ने तयारी अन्तिम चरणमा

कार्तिक ४, २०८१ मा प्रकाशित | 214 views


काठमाडौँ । सरकारले जलन पीडितको निःशुल्क उपचार प्रयास शुरू गरेको छ । गएको शुक्रवारको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले प्रस्तुत गर्नुभएको त्यससम्बन्धी प्रस्तावलाई स्वीकार गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार मन्त्री प्रदीप पौडेलले प्रस्तुत गर्नुभएकाे प्रस्तावलाई सरकारले स्वीकार गरेको तथा त्यससम्बन्धी निर्णय चाँडै सार्वजनिक हुने बताउनुभयो । जलन पीडितको निःशुल्क उपचारको व्यवस्था गर्नेसम्बन्धी प्रावधान चाँडै सार्वजनिक हुने उहाँको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशमा नारायणी अस्पताल, बाग्मती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा जलन उपचारको निःशुल्क व्यवस्था गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा प्रस्तुत गरेको थियो ।

देशमा वार्षिक ५७ हजार मानिस ज्वलनबाट प्रभावित हुने गरेका स्वास्थ्य मन्त्रालयको अनुमान छ । ज्वलनको उपचार महँगो भएकाले उपचार नपाएर धेरैले ज्यान गुमाउने गरेका छन् ।

देशमा जलनको मात्र उपचार गर्ने विशिष्टीकृत अस्पताल छैनन् । यद्यपि काठमाण्डाै उपत्यकाका केही ठूला अस्पतालले ‘बर्न युनिट’ बाट सेवा प्रवाह गर्दै आएका छन् । कीर्तिपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र साँखुमा रहेकाे सुष्मा कोइराला मेमोरियल अस्पतालले आगो तथा एसिडलगायत पदार्थले पोलेका बिरामीको उपचार गर्दै आएका छन् । देशको सबैभन्दा पुरानो वीर अस्पतालले पनि गएको भदौदेखि ‘बर्न युनिट’ सञ्चालन गरेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web