
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको पूर्ण प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले आफ्नो वेबसाइटमार्फत एक हजार एक सय २४ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको हो ।
छानबिन समितिले भदौ ३१ गते प्रतिनिधिसभामा प्रतिवेदन पेश गरेको थियो । त्यही दिन सभामुख देवराज घिमिरेले कार्यान्वयनका लागि सरकारलाई पठाउन निर्देशन दिनुभएको थियो । मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले कार्यान्वयन गर्ने निर्णय गरेर छानबिन प्रतिवेदन गृह मन्त्रालयमा पठाएको छ ।
सांसद सूर्य थापाको नेतृत्वमा गठन भएको विशेष समितिले गोरखा मिडिया नेटवर्क प्रालीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही गर्न सिफारिश गरेको छ । सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगानी गरेर अपचलन गरेको छानबिन समितिको ठहर छ ।
प्रतिवेदनमा लामिछाने प्रबन्ध निर्देशक हुँदा विभिन्न सहकारीबाट झन्डै ८५ करोड रुपैयाँ ऋण गोरखा मिडिया नेटवर्कका नाममा आएको भेटिएको उल्लेख छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने २०७७ चैत २५ देखि २०७९ असारसम्म गोरखा मिडिया नेटवर्कका शेयरधनी हुनुहुन्थ्यो ।
समितिले गोरखा मिडियाको कारोबारका सम्बन्धमा रवि लामिछानेले गलत कुरा बताएको निष्कर्ष निकालेको छ । लामिछानेले समितिमा बयानका क्रममा गोरखा मिडियाको आर्थिक कारोबारमा जीबी राई नै जिम्मेवार हुने बयान दिनुभएको थियो ।
यस्तै प्रतिवेदनमा गोरखा मिडिया नेटवर्क प्रालीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र उनका आफन्तको नाममा मात्रै सहकारी कानून विपरीत ऋण तथा पेश्की गरी दुई अर्ब ५८ करोड रुपैयाँ बराबर अपचलन भएको उल्लेख छ ।
नेपाली कांग्रेसले सहकारी बचत अपचलनमा लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेपछि जेठ १५ गते समिति बनेको थियो ।
सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको पूर्ण प्रतिवेदन यहाँ पढ्न सकिन्छ ।
27.18¡ÆC