फेदी पहिरो : घ्याङफेदी आउजाउ गर्ने सडक बन्द, विद्युत र इन्टरनेट अबरुद्ध, तीन पुल बगायो

भदौ २७, २०८१ मा प्रकाशित | 293 views


नुवाकोट, २७ भदौ । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं. १ स्थित फेदीमा बुधबार राती बगेको पहिरोको कारण तादी खोलामा आएको बाढीले १ नं. वडा घ्याङफेदी जाने सडक बगाउदा पूर्ण अबरुद्ध बनाएको छ । बाढीले उक्त क्षेत्रका तीनवटा झोलुङ्गे पुल बगाएको छ ।

घ्याङफेदी माध्यमिक विद्यालयका सहायक प्रधानध्यापक प्रेम स्याङताङको अनुसार वडा नं. ७ शिखरवेशीबाट वडा नं १ कुदुङ स्थित घ्याङफेदी जाने मूल सडक खोलाले पूरै कटान गरेको हो । उक्त स्थानबाट मानिस आउजाउ गर्न सक्ने अवस्था नहुदाँ वडा नं. १ घ्याङफेदीको अन्य वस्तीसंगको आउजाउ नै अबरुद्ध भएको छ ।

बैकल्पिक सडक तथा बाटो समेत नहुदाँ उद्धार तथा क्षतिको लगत लिनको लागी पुगेको टोली खोलाले कटान गरेको जोखिमको स्थान हुदै घ्याङफेदीतर्फ लागेको हो । घ्याङफेदी पुगेपनि विभिन्न स्थानमा झोलुङ्गे पुल बगाएको हुदाँ पहिरोसम्म पुग्न बाँकी रहेको गाँउपालिका अध्यक्ष शंकर थापाले जानकारी दिनुभएको छ । सडक र बाटोको आउजाउ नहुदाँ वडा नं. १ घ्याङफेदीका एक हजार छसय घरधुरी परिवारको वडा भन्दा बाहिरको आउजाउ पूर्ण रुपमा बन्द भएको छ ।

पहिरोले तीनवटा झोलुङ्गे पुल बगाएको छ । खेतीयोग्य जग्गा कटान गरेर सयौँ रोपनीमा लगाएको बालीलाई क्षति पु¥याएको छ । फेदीमा आएको पहिरोले तालु र कसेरी जोड्ने झोलुङ्गे पुल, शिशिपु र कसेरी जोड्ने झोलुङ्गे पुल र फेदी र घोप्टेभीर जोड्ने काठको पुल बगाएको हो । प्रभावित क्षेत्रसम्म जाने मूल सडक अबरुद्ध भएको र वस्ती जोड्ने पुल समेत बगाएकोले क्षतिको थप विवरण आउन बाँकी रहेको गाँउपालिका अध्यक्ष शंकर थापाले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार त्यस ठाँउमा जानसक्ने अबस्था नभएपछि सोही वडाका जनप्रतिनिध, कर्मचारी, विद्यालयका शिक्षकलाई उद्धार तथा क्षतिको विवरण लिन परिचालन गरिएको छ । पहिरोको ग्रेगरले तादी खोलाको बहाब बढेसगैँ सूर्यकुण्ड जलविद्युत आयोजनाको पाइपलाइन विस्तारको लागी बनाएको पर्खालहरु समेत बगाएको छ ।

सुख्खा पहिरो बगेको र लगत्तै आएको अविरल वर्षाको कारण बुधबार राती तादी खोलाको बहाब दोब्बरले बढेको थियो । मंगिनगोठ स्थित लामा होटल सञ्चालक पेम्बा लामाको अनुसार फेदी नजिकै बगेका सानाठूला चारवटा पहिरोले रातको करीब १० बजेतिर तादी खोलामा ठूलो बाढी आएको हो । ग्रेगर (लेदो) सहितको बाढी आएकाले तादी खोलाको तटीय क्षेत्र आसपासमा सावधानी अपनाउन दुप्चेश्वर गाँउपालिका अध्यक्ष शंकर थापाले अपिल गर्नुभएको छ ।

पहिरो अझै थपिने र तादी खोलाको बबाह ठूलो हुनसक्ने जोखिम भएकाले दुप्चेश्वर गाँउपालिकाको रामतीबजारदेखि समुन्द्रटार बजार, भ्याङ्ले, सातबिसे, आप्रह, ढिकुरेहुदैँ विदुर नगरपालिका–५ स्थित देवीघाट बजारसम्मका तादी खोलाकोतटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्क रहन प्रशासनले अपिल गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web