पाटी बलियो भए कार्यकर्ता बलिया हुन्छन् : प्रवक्ता महत

भदौ २६, २०८१ मा प्रकाशित
Published at भदौ २६, २०८१

294 views

नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पाटी बलियो बनाउनलाई सक्रिय हुन कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

विपि जन्मजयन्तीको अवसरमा नेपाल तरुण दल क्षेत्र नं १ नुवाकोटले जिल्लाको लिखु गाँउपालिका–४ मा आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता महतले सबैभन्दा पुरानो तथा धेरै भातृ र शुभेच्छुक सँस्था भएको काँग्रेस पाटीलाई ठूलो र बलियो बनाई राख्न कार्यकर्ताको सक्रियता नै अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

“पाटीले नीति तथा कार्यक्रम बनाउन र जनताको सेवागर्न प्रतिनिधि खटाएको हुन्छ ।” उहाँले भन्नुभयो “पाटी र पाटीका प्रतिनिधिले गरेका राम्रा कामलाई जनता समक्ष पु-याई त्यसको प्रचारप्रसार गरेर पाटीलाई लोकप्रिय बनाउनलाई केन्द्रित हुुनुपर्दछ ।”

वृक्षरोपण, रक्तदान जस्ता कार्यक्रमलाई सामान्य रुपमा नलिई यस्ता गतिविधि अझै धेरै बढाउन उहाँले आग्रह गर्नुभयो । तरुण दलको अगुवाईमा आयोजित वृक्षरोपण कार्यक्रम वन क्षेत्र विस्तार एवम् संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने रचनात्मक कार्यको रुपमा उहाँले प्रशंसा गर्नुभयो ।

“दल र पाटीका गतिविधि माथी प्रतिबन्ध लगाउदा जनताको बीचमा पुग्न र गुनासो सुन्न विपि कोइरालाले वृक्षरोपण र रक्तदान कार्यक्रम मार्फत नै जनताको मन जित्नुभएको थियो ।” प्रवक्ता महतले भन्नुभयो “अहिलेका सामुदायिक वन र तत्कालीन समयमा रगत अभावमा बिरामीको अकालमा ज्यान जोगाउन विपि कोइरालाको अभियानको महत्वपूर्ण योगदान छ । यसलाई काँग्रेसले अपनत्व लिएर अहिलेको सन्दर्भमा अझै बढवा दिनुपर्दछ ।”

जनतालाई चाहिएको विकास, सेवा र आवश्यक परेको समयमा सहयोगको लागी पाटी र भातृ सँस्थाका प्रतिनिधिलाई अग्रस्थानमा उभिन प्रतिनिधिसभा सदस्य एवम् पूर्व अर्थमन्त्री समेत रहनुभएका डा.महतले अपिल गर्नुभयो । नुवाकोटमा काँग्रेस एक्लै चुनाव लड्न र जित्न सक्ने अवस्थालाई कायम राख्दै तीनतहमा नै काँग्रेसका प्रतिनिधिले जित्ने वातावरण तयार गर्न पाटी र भातृ सँस्थाका पदाधिकारीलाई उहाँले निर्देशन दिनुभयो ।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.