काठमाडौँ । हरितालिका तीज व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला बिहीबार दर खाने तयारीमा छन्। भाद्र शुक्ल द्वितीयाका दिन बेलुकी दर खाने परम्परा छ ।
भाद्र शुक्ल तृतीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने खाने चलन छ । दरलाई तीजको व्रतको ‘पूर्वतयारी’को रूपमा पनि लिइन्छ ।
दर खाने दिन कुशे औँसीको पर्सिपल्ट पर्ने भए पनि यो वर्ष एक दिन पछाडि परको छ। पञ्चांगहरूले यो वर्ष दुई दिन औँसी रहेको उल्लेख गरेका छन् । त्यसैकारण औँसीको तेस्रो दिन द्वितीया तिथि परेको हो ।
दरका लागि माइतीले आफ्ना चेलीलाई बोलाउने वा लिन जाने चलन छ । विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन् । कर्मघरमै रहेका महिलाले पनि परिवारका सदस्यसँगै दर खाने गर्छन् ।
भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ । विशेषगरी दूधबाट बनेका खिर, ढकनेका साथ चाम्रे, सेलपुरी, पुआ र गुँदपाकका साथै फलफूल खाने चलन छ । यस्तै मौसमी तरकारी-अचार बनाएर पनि खाने चलन छ ।
दरले व्रतका दिन आडिलो बनाउँछ भन्ने मान्यता छ । दर दुई भाग रात हुँदै दर खाइसक्नुपर्ने मान्यता रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन् ।
अचेल एकडेढ महिनादेखि पार्टी प्यालेसमा भोज गर्ने र दरका नाममा तामसिक पदार्थ खाने चलन बढेको भन्दै संस्कृतिविद् चिन्ता व्यक्त गर्छन् ।