नुवाकोटमा निर्मित केन्द्रीय कारागार सञ्चालनमा (भिडियो सहित )

भदौ १६, २०८१ मा प्रकाशित | 454 views


-रामहरि न्यौपाने
नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागार सञ्चालनमा आएको छ । कारागारको पहिलो युनिट भवनको नवनिर्मित संरचनाको शनिबार गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेसगैँ जिल्ला कारागार नुवाकोटका कैदीबन्दी स्थान्तरण गरेर कारागार सञ्चालनमा ल्याइएको हो ।

विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा निर्माण गरिएको केन्द्रीय कारागारको भवनलाई औद्योगिक कारागारको रुपमा स्थापित गराउन आवश्यक थप संरचनालाई क्रमशः निर्माण गर्दै अघि बढाइने गृहमन्त्री लेखकले जानकारी दिनुभयो ।
“देशभरमा करीब १३ हजार क्षमताको कारागारमा अहिले २८ हजारलाई राख्दै आएका छौ ।” उहाँले भन्नुभयो “गृह मन्त्रालयले एकसय दिनमा गर्ने कार्ययोजना अनुरुप केन्द्रीय कारागार सञ्चालनमा ल्याइएको छ । आवश्यक थप संरचनाको क्रमशः निर्माण अघि बढाउदै लगिनेछ ।”

कारागारलाई सुधार गृहको रुपमा अघि बढाउन सरकारले विभिन्न योजना बनाएपनि भौतिक पूर्वाधार अभावले समस्या भइरहेको समयमा नुवाकोटको केन्द्रीय कारागारलाई नमूना सहित औद्योगिक कारागार बनाई आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने गृहमन्त्री लेखकको भनाई छ ।

सुविधासम्पन्न नयाँ भवनमा उद्यम र सिप सिकाई हस्तकलाका सामाग्रि उत्पादन गराई त्यसको बिक्रीबाट कैदीबन्दीको आम्दानी र स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पहिलो चरण अन्तरगत एक हजार तीनसय ७० जना कैदीबन्दी राख्ने क्षमताको पहिलो युनिटका संरचनाको निर्माण सम्पन्न भएसगैँ शनिबार नै जिल्ला कारागार नुवाकोटमा रहेका चौधजना महिला सहित एकसय ४८ जना कैदीबन्दीलाई स्थान्तरण गरिएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यको अनुसार केन्द्रीय जगन्नाथदेवल, नख्खु कारागार ललितपुर, डिल्लीबजार कारागार काठमाडौबाट थप पाचसय कैदी नुवाकोटमा स्थान्तरण गरिनेछ । त्यसपश्चात आसपासमा पर्ने रसुवा, धादिङ, गोरखाबाट ल्याएर पूर्ण क्षमतामा एक हजार तीनसय ७० कैदीबन्दी पु-याइने भएको छ ।

काठमाडौमा रहेको केन्द्रीय कारागारलाई विसंं २०७० चैत्र २० गते बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटमा स्थान्तरण गर्ने निर्णय पश्चात निर्माण थालिएको पाचमध्ये पहिलो युनिट अन्तरगतका संरचना (भवन) गत साउन १ मा पूरा भएसगैँ कारागारलाई सञ्चालनमा ल्याइएको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार आर्थिक वर्ष २०७२÷७३ मा रु एक करोड पचास लाख लागतमा कारागारको नाममा रहेको ६४५ रोपनी जग्गामा घेराबार लगाएर संरक्षण थालिएको थियो । सोही वर्ष थप रु ४५ करोड ४२ लाखमा लगाएको ठेक्का मार्फत लामा–रमण जेभी निर्माण कम्पनीले निर्धारित समय भन्दा ढिलो गरेर गत साउनमा सरकारलाई हस्तान्तरण गरेको हो ।

पहिलो युनिट अन्तरगत पाच ब्लकमा रहेको कारागार सहित प्रशासनिक भवन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एकाई कार्यालय लगायतका विस्तारित केन्द्रीय कारागारको लागी चाहिने अत्यावश्यक संरचनाको निर्माण गरिएको छ ।

कारागार भवन उद्घाटनको क्रममा बागमती प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले सम्पन्न गर्न बाँकी रहेका संरचनाको निर्माणमा सहयोगको प्रतिबद्धता जनाउनुभयो । आधुनिक र सुविधासम्पन्न कारागारको रुपमा स्थापित गर्ने लक्ष्यको साथ नुवाकोटमा सुरु गरिएको कारागारलाई संघ र प्रदेस सरकारको साझा अधिकार अन्तरगत थप संरचना निर्माण लगायतमा प्रदेस सरकारले बहन गर्नुपर्ने दायित्वको जिम्मेवारी पूरा गर्ने मुख्यमन्त्री लामाको भनाई छ ।

कार्यक्रममा कानून न्याय तथा मानव अधिकार समितिका सभापति बिलमा सुवेदी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, महान्यायधिवक्ता रमेश बडाल, प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र सिता मिजार, निमत्त गृहसचिव नारायणप्रसाद भट्टराई लगायतले सात हजार कैदीबन्दी क्षमतामा रहने केन्द्रीय काराकारलाई पूर्णता दिन बाँकी रहेका कामलाई यथाशक्य अघि बढाउन सुझाब दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web