काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले सेवा प्रवाहबापत अस्पतालहरूलाई भुक्तानी गर्नुपर्ने करिब १२ अर्ब रुपैयाँ रोकिएको छ । आर्थिक वर्ष २०८०/०८१ को माघयताको भुक्तानी बोर्डले गर्न सकेको छैन ।
बिमा सेवा प्रदान गरेबापतको शोधभर्ना रकम लामो समयदेखि रोकिएपछि सरकारी अस्पतालहरूले नै सेवा रोक्ने चेतनवनी दिएका छन् । त्रिवि शिक्षण अस्पतालले सूचना नै जारी गरेर भदौ १३ गतेबाट अन्तरंग सेवाका बिरामीको उपचार स्वास्थ्य बिमा प्याकेजमार्फत गर्न नसकिने जानकारी गराएको थियो ।
बोर्डले परिमार्जन गरेको नयाँ सुविधा थैलीअनुसार बिमितलाई सेवा दिन असमर्थ रहेको शिक्षण अस्पतालको भनाइ थियो ।
तर, दैनिक झन्डै दुई हजार बिरामीलाई ओपीडी सेवा दिने अस्पतालले अन्तरंगमा बिमा सेवा रोक्ने चेतावनी दिएपछि बिमा बोर्डका पदाधिकारी नै छलफलका लागि अस्पताल पुगेका थिए । बुधबार भएको छलफलमा हालसम्मको बाँकी भुक्तानी रकम एक महिनाभित्र पठाउने सहमति भएपछि सेवा नरोक्ने निर्णय भएको थियो ।
“हालसम्म रोकिएको रकम एक महिनाभित्र भुक्तानी गर्ने सहमति भएको छ । अब सेवा नरोकिने भयो,” अस्पतालका प्रशासन प्रमुख प्रमोद निरौलाले भने ।
निरौलाका अनुसार त्रिवि शिक्षण अस्पतालले बिमा सेवा सुरु गरेको वर्ष २०७७ देखिकै भुक्तानी बाँकी छ । आंशिकरूपमा शोधभर्नापाठाए पनि झन्डै ६६ करोड रुपैयाँ बाँकी रहेको उनले बताए ।
"हाम्रो दाबीलाई अरू निजी अस्पतालहरूसँग दाँजेर कहिलेकाहीँ २–४ करोड रुपैयाँ किस्तामा दिने गरेको छ, त्यसरी चल्न ठूलो अस्पताललाई गाह्रो भैहाल्छ नि, फेरि टिचिङले झुटो दाबी गर्छ र यस्तो ढिलासुस्ती गर्नलाई ?," निरौला भन्छन् ।
यता बोर्डले भने बजेट अभाव भएर केही महिनायता भुक्तानी गर्न नसकेको जनाएको छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला स्वास्थ्य मन्त्रालयबाट नै रकम निकासा नभएकाले भुक्तानी रोकिएको बताउँछन् ।
डा. बसौलाका अनुसार, ०८० माघदेखि सबै सेवा प्रदायक स्वास्थ्य संस्था (४७६वटाकै) शोधभर्ना पठाइएको छैन । बोर्डले त्रैमासिकरूपमाशोधभर्ना रकम भुक्तानी गर्ने गरेको छ ।
“अन्तिमपटक पुसमा १३ अर्ब रुपैयाँ पठाएका थियौँ । माघयताको बाँकी हो, माघ फागुन र चैतको पठाउन सकिएको छैन,” उनले भने ।
निर्देशक बसौलाका अनुसार, ४७६ स्वास्थ्य संस्थाको माघदेखि चैतसम्मको शोधभर्ना पठाउन १२ अर्ब रुपैयाँ आवश्यक हुन्छ, जुन रकम बोर्डसँग तत्काल छैन । रकम निकासाका निम्ति मन्त्रालयमा प्रक्रिया गरिरहेको उनको भनाए छ ।
बोर्डले दाबी रकम रुजु गर्न समय लाग्ने कारण बिमा सेवाबापतको शेधभर्ना रकम भन्दै दाबी गरेको कम्तीमा तीन महिनापछि मात्रै भुक्तानी गर्दै आएको छ ।
पछिल्लोपटक भने ०८० फागुनसम्मको रुजु गरिसकेको र चैतको समेत रिभ्यू गरेर छिट्टै भुक्तानी गर्ने तयारी रहेको डा. बसौलाले जानकारी दिए । स्वास्थ्य बिमा कार्यक्रममा २०८० असारसम्म करिब ८३ लाख नागरिक आबद्ध छन् ।