
काठमाडौँ । अगष्टयता दैनिक एक सयभन्दा बढी डेंगी संक्रमित थपिइरहेको तथ्यांकले देखाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार अगष्टका २३ दिनमा (१ देखि २३ अगष्ट) सम्म दुई हजार पाँचजनामा डेंगी पुष्टि भएको छ ।
यही अवधिमा संक्रमणका कारण तीनजनाको मृत्यु भएको छ । हाल ७५ जिल्लामा सीमित रहेको संक्रमितको संख्या आगामी सेप्टेम्बरमा झनै थपिनसक्ने ईडीसीडीको आकलन छ ।
सन् २०२३ मा कोसी प्रदेशअन्तर्गत सुनुसरीको धरानमा सबैभन्दा धेरै १६ हजार जना संक्रमित भएका थिए । यो वर्ष भने गण्डकी प्रदेश डेंगीको हब बनेको छ । तनहुँमा सबैभन्दा धेरै एक हजार ४५ जनामा डेंगी पुष्टि भएको छ । तनहुँमा नै साउन अन्तिम साता ५० वर्षीय एक पुरुषको डेंगी संक्रमणबाट मृत्यु भएको ईडीसीडीको रेकर्ड छ ।
कास्कीमा पनि संक्रमितको संख्या ४०८ पुगेको छ । मनाङमा दुईजनामा डेंगी देखिएको छ । गण्डकीका मुस्ताङबाहेक सबै जिल्लामा डेंगी फैलिएको ईडीसीडीको तथ्यांक छ ।
गण्डकीपछि वाग्मतीमा संक्रमण बढी फैलिएको छ । वाग्मतीको चितवनमा ४६८ र काठमाडौंमा ४२१ जना संक्रमित भएका छन् । यीबाहेक मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेमा पनि संक्रमित निरन्तर बढिरहेको तथ्यांकले देखाएको छ । भक्तपुरका पाँच वर्षीय बालकको गत साउन २५ गते डेंगी संक्रमणकै कारण मृत्यु भएको ईडीसीडीको रेकर्ड छ ।
कोसी प्रदेशका झापा, भोजपुर, धनकुटा, ओखलढुंगा, संखुवासभा लगायतका जिल्लामा पनि डेंगी संक्रमण बढ्दो क्रममा छ । झापामा साउन अन्तिम साता ४० वर्षीया एक महिलाको डेंगी संक्रमणका कारण मृत्यु भएको थियो । कर्णाली प्रदेशको हुम्लाबाहेक सबै जिल्लामा डेंगीका बिरामी देखिएको ईडीसीडीले जनाएको छ ।
19.74¡ÆC