
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी आन्दोलनबाट फुटेर गएका सबै शक्ति एकै ठाउँमा आउने विश्वास व्यक्त गर्नुभएको छ ।
नुवाकोट काठमाडौँ सम्पर्क समन्वय समितिले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सबै वामपन्थी एवम् समाजवादी र विगतमा फुटेर गएका माओवादी शक्तिहरू एक ठाउँमा आउनेगरी निरन्तर एकता वार्ता चलिराखेको बताउनुभयो । उहाँले यसको परिणाम छिट्टै आउने दाबीसमेत गर्नुभयो ।
अध्यक्ष दाहालले पार्टीका सबै तह र तप्काले सार्थक प्रयास गरेमा २०६४ सालमा जस्तै माओवादीलाई पुनः जनमत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले २०६४ मा माओवादी पार्टीलाई मतदान गर्नेहरूको सूची र तिनका सन्ततिको विवरणसमेत तयार गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । “हामी सबैले सार्थक प्रयास गरेमा माओवादीमा जनमत फेरि फर्काउन सकिने विश्वास छ ।
केन्द्रीय समितिको बैठकपछि देशभर नै पार्टीले अभियान सञ्चालन गर्ने र जनतालाई एकीकृत गरेर सबल पार्टी निर्माण गर्ने विश्वास दिलाउन चाहन्छु । आत्मविश्वासका साथ जनतामा गएर आत्मसमीक्षा गर्दा उल्लेखनीय परिणाम हासिल हुनेमा कुनै द्विविधा छैन, त्यसैले पार्टीको पक्षमा केन्द्रित भएर अभियान सञ्चालन गर्नसमेत आह्वान गर्दछु”, अध्यक्ष दाहालले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले आफू सरकारबाट बाहिरिँदा विजयी भावमा रहेको र हाल सरकारमा गएकाहरूमा त्यस्तो नभएको समेत टिप्पणी गर्नुभयो । यसैगरी उहाँले समानुपातिक समावेशी मूल्य, मान्यतालाई कोही कसैले पनि हटाउन नसक्ने बरु त्यसलाई थप समृद्ध बनाइने बताउनुभयो ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रक्रियासमेत अगाडि बढेको जानकारी दिनुहुँदै अध्यक्ष दाहालले त्यसका लागि नुवाकोटबाटै प्रतिनिधित्व गर्ने सांसद एवम् कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले नुवाकोटलाई पार्टीले सधैँ महत्व दिएको र आगामी दिनमा पनि उस्तै भूमिका दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री हितबहादुर तामाङले आफ्नो पार्टीको सरकार भएका समयमा विभिन्न जनपक्षीय काम भएको उल्लेख गर्नुभयो । उहाँले जनतालाई केन्द्रमा राखेर काम गरिएका कारण नै आफूहरूलाई सरकारबाट हटाइएको जिकिर गर्नुभयो ।
कार्यक्रममा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति सुवेदी, राष्ट्रियसभा सदस्य श्रीकृष्ण अधिकारी, राधिका तामाङ लगायतको उपस्थित रहेको थियो ।
अध्यक्षमा प्रकाश रैला :
नुवाकोट काठमाडौँ सम्पर्क समन्वय समितिको शनिबार सम्पन्न अधिवेशनले प्रकाश रैलाको अध्यक्षतमा नयाँ कार्यसमिति गठन भएको छ ।
बेलकोटगढी नगरपालिका निवासी युवा व्यक्तित्व प्रकाश रैला सहित सम्पूर्ण पदाधिकारी र सदस्यहरु सर्वसम्मत रुपमा चयन भएको हो ।
अध्यक्षमा प्रकाश रैला, सचिबमा कृष्ण घ्याचो तामाङ र कोषाध्यक्षमा देबराज बजगाई सहित ५५ सदस्य रहेको नयाँ कार्यसमिति चयनको केही पदमा अन्तिम टुङ्गो लाग्न बाँकी रहेपनि त्यसको लागी निर्वाचनसम्म नै पुग्नुपर्ने अवस्था नभएकाले नयाँ कार्यसमितिमा सर्वसम्मत नै पूर्णता पाउने विश्वास गरिएको छ ।
भेलाले नुवाकोट काठमाडौँ सम्पर्क समन्वय समितिलाई चलायमान बनाउन प्रकाश रैलाको नेतृत्वको टिम सक्षम रहेको भन्दै सर्वसम्मत चयन गर्दै सफलताको शुभकामना दिइएको छ ।
कार्यक्रमसंग सम्बन्धित थप तस्बिरहरु :