गोसाईँकुण्डमा स्नान गर्न नुवाकोटको पर्यटन पदमार्गमा तिर्थालूले भरिभराउ

भदौ २, २०८१ मा प्रकाशित | 459 views


-रामहरि न्यौपाने
त्रिशूली (नुवाकोट) । जनैपूर्णिमा पर्वको अवसरमा रसुवामा अवस्थित गोसाईँकुण्ड स्नानको लागी नुवाकोट तर्फको पदमार्ग हुदै जाने तिर्थयात्रीको सङ्ख्या बृद्धि भएको छ । विगतका वर्षमा यस मार्गबाट जानेको सङ्ख्या दुई हजार हाराहारीमा हुने गरेकोमा यसवर्ष गोसाईँकुण्ड स्नान गर्न आइतबार बिहानसम्म तीन हजार भन्दा धेरै तिर्थयात्री नुवाकोटको दुप्चेश्वर गाँउपालिका–१ फेदी हुदै त्यसतर्फ प्रस्थान गरेको हो ।

लाङटाङ गोसाईँकुण्ड हेलम्बु होटल व्यवसायी सरोकार समितिका उपाध्यक्ष पेम्बा लामाको अनुसार रसुवाको धुञ्चेहुदै जाने पदमार्गको विकल्पमा विस्तार गरिएको नुवाकोटको फेदी हुदै जाने पदमार्गमा तिर्थयात्रीको आवागमन उत्साहजनक रुपमा बढेको छ ।

लाङटाङ गोसाईँकुण्ड हेलम्बु होटल व्यवसायी सरोकार समितिका उपाध्यक्ष तथा लामा गेष्ट हाउसका सञ्चालक पेम्बा लामा ।

“पर्यटकीय पदमार्ग तथा प्राकृतिक सुन्दरतासँग रमाउन चाहने तिर्थयात्रीको लागी पदमार्गको स्तरउन्नती सहित आउजाउमा सहज बनाएसगैँ आवागमन बढेको हो ।” उपाध्यक्ष लामाले भन्नुभयो “तिर्थयात्रीको सेवामा बासस्थान, शान्ति–सुरक्षा, भरियाको प्रबन्ध राम्रोसंग मिलाइएको छ ।”
नुवाकोटको घ्याङफेदीबाट सूर्यकुण्ड हुदैँ गोसाइँकुण्ड जाने तीर्थालुका लागि ठाँउ–ठाँउमा सुविधासम्पन्न गेष्टहाउस र होमस्टे (घरबाँस) सञ्चालनमा छन् ।

लामा गेष्ट हाउसका मंगिनगोठमा खाना खाजा लिदै गोसाईकुण्ड जान लागेका तिर्थालू, धर्मालम्वीहरु ।

जात्रालाई लक्षित गर्दै तिर्थयात्रीको सहजताको लागी नेपाल प्रहरी र नेपाली सेना सहित स्वंयमसेवक मार्फत सुरक्षा व्यवस्था, खानपान र बसोबाँस, पथप्रदर्शक, भरिया, थर्पु (अस्थायी होटल), शौचालय लगायतका सुविधा उपलब्ध रहेको दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकर थापाले जानकारी दिनुभयो । उहाँको अनुसार दुप्चेश्वर गाँउपालिकामा पर्ने पदमार्गको विभिन्न स्थानमा तिर्थालूलाई पर्नसक्ने समस्या पहिचानको लागी स्वंयमसेवक खटाएर आवश्यक थप मद्दत पु-याउन गाँउपालिकाले ठाँउठाँउमा सम्बन्धित टोली तयारीमा अवस्थामा खटाएको छ ।

नुवाकोटबाट कसरी पुग्ने गोसाईँकुण्ड :
गोसाईँकुण्ड स्नानको लागी नुवाकोटतर्फको पदमार्ग हुदैँ जान दुई स्थानबाट फेदीमा केन्द्रित भएर जान सकिन्छ । काठमाडौको सुन्दरीजलबाट पैदलयात्रा शुरु गरेर चिसापानी, कुटुङसांङ, मंगिनगोेठ, ठाडे, घोप्टे हुदैँ फेदी पुग्न सकिन्छ ।

सवारीसाधनको यात्रा गरेर पैदल दूरी छोट्याउन चाहनेलाई नुवाकोटको विदुर नगरपालिका–५ गंगटेबाट अथवा काठमाडौंको टोेखा–छहरे सडक मार्गहुँदै खरानीटारमा पुगेर त्यहाँबाट समुन्द्रटार, रामती, घ्याङफेदी, सिसिपु, कसेरी, तालु हुदै विसं. २०४९ मा थाई एयरको बिमान दुर्घटना भएको स्थान घोप्टे भएर फेदी पुग्न सकिन्छ ।

याहाँबाट यात्रा गर्दा दुप्चेश्वर–१ सिसिपुसम्म सवारीसाधनमा जान सकिन्छ । यो यात्रामा दोश्रो पशुपतिनाथको रुपमा परिचित नुवाकोटको दुप्चेश्वर मन्दिरको दर्शन र सूर्यकुण्डको समेत स्नान गर्न सकिने अवसर मिल्ने छ । सोही कारण पनि काठमाडौबाट नुवाकोटहुदैँ सिधै गोसाईकुण्ड जाने तिर्थालूको आकर्षक रोजाईमा यस पदमार्ग बन्दै आएको छ ।

काठमाडौबाट आएको पैदलयात्री र नुवाकोटबाट सवारीसाधन र पैदल हुदैँ घ्याङफेदीबाट गएको तिर्थालू दुप्चेश्वर–१ स्थित फेदीमा जोडिन्छ । फेदीबाट हाईक्याम्प हुँदै नुवाकोटमा पर्ने सूर्यकुण्डमा स्नान पश्चात रसुवामा पर्ने गोसाइँकुण्डको स्नान गर्न सकिन्छ ।

गोसाईकुण्ड त्रिशूली नदीको मुहान हो । यो भन्दा सूर्यमती (तादी)नदीको मुहान सूर्यकुण्ड थप उचाईमा पर्दछ । रसुवाको धुञ्चेबाट गोसाईकुण्ड (४,३८० मि.) पुग्नेहरु त्यो भन्दा माथी अवस्थित सूर्यकुण्ड (४६१० मि.)मा स्नान गर्न थप हिड्नुपर्ने भएकाले एकदमै न्यून तिर्थालू मात्र जाने गर्दछन् ।

नुवाकोटको घ्याङफेदीहुदै गोसाईँकुण्ड जादा पदमार्गमा नै सूर्यकुण्ड पर्ने भएकाले एकैसाथ दुई तिर्थमा स्नान गर्ने अवसर तिर्थयात्रीले पाउने जिविकोपार्जनको लागी दिगो पर्यटन परियोजनाका सञ्चालन गर्दै आउनुभएका अभियन्ता निलकण्ठ आचार्यको भनाई छ ।
धार्मिक तथा पर्यटन प्रबद्र्धनको लागी निर्माण गरिएको उक्त पदमार्गको स्तरउन्नती सहित अफ्ठ्यारो स्थानमा सिढीँ निर्माण सहित हाल व्यवस्थित बनाइएको छ ।

लामा गेष्ट हाउसका मंगिनगोठमा खाना खाजा लिदै गोसाईकुण्ड जान लागेका तिर्थालू, धर्मालम्वीहरु ।

पर्यटन अभियन्ता आचार्यको अनुसार ठाँउठाँउमा सञ्चालित व्यवस्थित गेष्टहाउस, होमस्टे (घरबाँस) समिति, लाङ्टाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका विभिन्न उपसमिति, आमा समूह लगायतले तिर्थालूलाई आवश्यक सहयोगको लागी खटिएका छन् ।

गोसाइँकुण्डमा जनैपूर्णिमाका अवसरमा लाग्ने मेलाको विशेष रौनक गत शुक्रबार पुत्रदा एकादशीदेखि शुरु भएको हो । उक्त मेला सोमबारसम्म लाग्ने गोसाईँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजिव डिएमले जानकारी दिनुभयो । उहाँको अनुसार यस तीर्थयात्राको अबधिमा रसुवा र नुवाकोटको दुबै पदमार्गबाट करीब १५ हजार तीर्थालुले मेलामा सहभागिता जनाउने अनुमान छ । समुन्द्री सतहबाट चार हजार ३०० मिटर उचाइमा पर्ने पवित्र तिर्थस्थल गोसाइँकुण्डमा हिन्दू र बौद्धमार्गीको धार्मिक आस्था जोडिएको छ ।

पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाईं हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी उक्त विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा पुगेर गोसाइँबाबा (भगवान् शिवशंकर)ले बोकेकोे त्रिशूलले खोप्दा गंगाजल निस्केको र त्यहाँ गोसाइँकुण्ड बनेको किम्बदन्ती छ । गोसाईँकुण्ड त्रिशूली नदीको मुहान हो ।
राष्ट्रिय समाचार समिति (रासस) ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web