थामे क्षेत्रमा बाढीको जोखिम कायमै

भदौ १, २०८१ मा प्रकाशित | 308 views


सोलुखुम्बु । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले थामे क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताउनुभएको छ ।

शुक्रबार दुई वटा हिमताल फुट्दा बाढी आएको पुष्टि गर्दै उहाँले उहाँले सो क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताउनुभयो ।

“आज क्षतिग्रस्त थामे क्षेत्रको रक्षामन्त्री मानवीर राई र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले हवाई निरीक्षण गर्नुभयो”, उहाँले भन्नुभयो, “निरीक्षणपछि हिजो दुई वटा हिमताल फुटेकाले बाढी आएको पुष्टि भएको छ, सो क्षेत्रमा बाढीको जोखिम कायमै छ ।”

जोखिममा रहेका भनिएका हिमताल जोगाउन सक्ने सम्भावना कम रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ । “थामेभन्दा माथिपट्टि पाँच वटा हिमताल रहेछन्, शुक्रबार दुईवटा विस्फोटपछि बाढी आएको पुष्टि भयो”, प्रमुख जिल्ला अधिकारी खत्रीले भन्नुभयो, “बाँकी तीनमध्ये एउटा सुरक्षित रहेको र दुई वटा जोखिम रहेको जानकारी प्राप्त भएको छ ।” खुम्बुसहित तल्लो सोलुमा बाढीको उच्च जोखिम रहेकाले सो क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण हिमताल विस्फोट भएको हुनसक्ने बताएको छ ।

विभागका अनुसार थामे क्षेत्रमा साउन २५ गतेदेखि दैनिक औसत तापक्रम बढेको थियो । सो दिनयता तापक्रम नौ दशमव सात डिग्री सेल्सियसबाट ११ डिग्री सेल्सियस पुगेको विभागले जनाएको छ ।

शुक्रबार भने तापक्रम बढेर १५ दशमलव नौ डिग्री सेल्सियस पुगेको थियो । निरन्तरको वर्षा र तापक्रममा भएको वृद्धिले हिमपहिरो गएको विभागको बुझाइ छ ।

जलवायु जानकार राजन थापाले हिमाली क्षेत्रमा तापक्रम अस्वाभाविक रूपमा बढ्दै जाँदा हिमतालहरू जोखिममा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “थामेमा मात्र होइन तापक्रम बढ्दै जाँदा सगरमाथा क्षेत्रका अन्य हिमताल पनि जोखिममा छन्, हिमालमा हिउँ पग्लिने क्रम बढेको छ, यसले हिमाली बस्तीलाई जोखिममा पारेको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web