
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सङ्गठन प्रमुखका रूपमा आफ्नो तीन वर्षे कार्यकालमा भए गरेका उपलब्धि सार्वजनिक गर्नुभएको छ । आउँदो भदौ २४ गतेदेखि अवकाशमा जान लाग्नुभएका प्रधानसेनापति शर्माले भोलि शुक्रवारदेखि घर बिदामा बस्न लागेको पूर्वसन्ध्यामा सकल दर्जालाई सम्बोधन गर्दै आफ्नो कार्यकालका उपलब्धिबारे जानकारी गराउनुभएको हो ।
आफ्नो कार्यकालका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षा गर्दै प्रधानसेनापति शर्माले सदैव इमान्दारिता, वफादारिता, निःस्वार्थ भाव र निरन्तर परिश्रमलाई मूलमन्त्रको रूपमा अङ्गिकार गरी कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो । नेपाली सेनाले निर्माण जिम्मा लिएका विभिन्न पूर्वाधार आयोजनाको प्रगति अवस्थाबारे प्रधानसेनापति शर्माले जानकारी गराउनुभएको छ ।
काठमाण्डौ–तराई मधेस दु्रतमार्गका १२ वटा प्याकेजको ठेक्का काम सुरू भएको, नौ वटा सुरुङमार्गमध्ये चार वटा छिचोलिसकेको, पहिलोपल्ट अग्ला पुलको निर्माण कार्य अगाडि बढेकोलगायत विवरण उहाँले प्रस्तुत गर्नुभयो । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको प्रक्रियागत कार्य सम्पन्न भई भवन निर्माणको चरणमा गएको उहाँले जानकारी दिनुभयो ।
नेपाली सेनाले काम गरिरहेको कर्णाली करिडोरअन्तर्गत लालिबगर–दुल्लिकुन्ना ११ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भई हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको पनि प्रधानसेनापति शर्माले समीक्षा प्रतिवेदनमा उल्लेख छ ।
शान्ति स्थापना कार्यमा नेपाली सेनाको सहभागिता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ बाराको जितपुरमा ‘पिसकिपिङ लजिस्टिक अपरेसन सेन्टर’ को स्थापना गरिएको, छाउनीको वीरेन्द्र अस्पतालमा ‘मास क्याजुअल्टी ट्रिटमेन्ट सेन्टर’ को निर्माण कार्य अगाडि बढेकोलगायत कार्यप्रगतिको जानकारी पनि प्रधानसेनापति शर्माले प्रस्तुत गर्नुभएको छ ।
21.02¡ÆC