
नुवाकोट । नुवाकोटमा भएका विभिन्न अपराधका घटना संलग्न रहेको पुष्टि भएका सातसय ७३ जना फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटको अनुसार विगतदेखि हालसम्म विभिन्न अपराधमा दोषी ठहर भएका ती व्यक्तिलाई फैसला कार्यान्वयनको लागी खोजतलास भइरहेको छ ।
नुवाकोट प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) शान्तिराज कोइरालाको अनुसार कार्यसम्पादन फरार अपराधीको सङ्ख्या नौसय १३ जना रहेको थियो । हालै सम्पन्न आर्थिक वर्ष २०८०–८१ मा एकसय २७ जनालाई पक्राउ गरिएको र तेह्र जना आफै न्यायालयमा हाजिर भएका छन् ।
जिल्लाको विभिन्न न्यायिक निकायको अन्तिम फैसलाबाट दोषी ठहर भएर फैसला कार्यान्वयन गर्नुपर्ने अपराधीको सङ्ख्या सातसय ७३ जना रहेका छन् ।
“पछिल्लो एक वर्षमा एकसय २७ जनालाई पक्राउ गरेर फैसला कार्यान्वयनको लागी सम्बन्धित न्यायालयमा बुझाएसँगै उनीहरूबाट ६८ वर्ष तीन महिना १३ दिन कैद कट्टाको प्रक्रियामा गएको छ ।” प्रहरी प्रमुख कोइरालाले भन्नुभयो “पक्राउ परेका मध्ये न्यायालयबाट दोषी ठहरिएर जरिवाना तोकिएकाबाट रु.२४ लाख १९ हजार भन्दाबढी भुक्तान भएको छ ।”
नुवाकोटका न्यायालयबाट दोषी ठहर भएका तथा अदालतमा अभियोग लागेका प्रतिवादीलाई पछिल्लो समयमा खोजतलास तथा पक्राउ गर्ने क्रम तीव्र बनाएसँगै फैसला कार्यान्वयनमा निकै सुधार आएको प्रहरीको दाबी छ ।
लामो समयदेखि फरार रहेकालाई सम्बन्धित न्यायालयमा उपस्थित गराउन तथा आफै न्यायालयमा उपस्थित हुन प्रहरीले चलाएको अभियान अन्तरगत अघिल्ला वर्षको तुलनामा हालै सम्पन्न आर्थिक वर्षमा निकै सुधार आएको छ । फरार व्यक्ति पक्राउमा दश प्रतिशत र जरिवाना असुलीमा ४३ प्रतिशतले वृद्धि भएको प्रहरीको तथ्याङ्क छ ।
-साभार, रेडियो नेपालबाट ।
18.53¡ÆC