त्रिशूली । श्रावण कृष्ण चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व देशभर मनाइएको छ । नेवारी समुदायको चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात घण्टाकर्ण पर्व सांस्कृतिक परम्परा अनुसार विशेषगरी नेवार समुदाय बसोबास भएको स्थानमा सबै समुदायले सयुक्त रुपमा मनाउने गरिएको छ ।
परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन रहेको छ ।
छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुका भने खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास रहेको छ ।
नेवार समुदायको बसोबास भएको विभिन्न स्थानमा यस पर्वलाई भिन्न भिन्न रुपमा पनि मनाइने गरिएको छ । गठामङ्गललाई कुनै स्थानमा भने खोला वा नदी किनारमा लगेर जनाइने गरिएको छ ।

यस्तै, हिजो शुक्रबार बिहानैदेखि स्नान, पूजापाठ गरी घर–आँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा माग्ने र राति राँको बाली राक्षसको प्रतीक घिसार्दै जलाउने चलन रहेका छ । गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्व, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन रहको छ ।
यसपर्व गाँउघरमा हराउदै गएपनि काठमाडौँ, ललितपुर र भक्तपुरका नेवार समुदाय बसोबास गर्दै आएका स्थानमा भने महत्वको रुपमा मनाइने गरिएको छ ।
शुक्रबार देखिनै लाखे नचाउन सुरु गरिएको छ । हरेक वर्षको गाँठेमंगल देखि सुरु हुने लाखे नाच आगामी श्रीकृष्णाष्टमीको मध्ये रातसम्म नचाइने धार्मिक एंव साँस्कृतिक पराम्परा रहेको छ । अधिकांश स्थानमा लाखे नचाउन थालिएको छ भने केही नेवार समुदायको बसोबास पातलो भएको स्थानमा भने नागपञ्चमीदेखि मात्रै लाखे नचाउने गरिएको छ ।
18.53¡ÆC