धादिङमा ग्राहकलाई बासी खाना खुवाउँदा दुई लाख जरिवाना

साउन १५, २०८१ मा प्रकाशित | 250 views


धादिङ । ग्राहकलाई सडेगलेको दूषित खाना खुवाउने थाक्रे गाउँपालिका-८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटेललाई दुई लाख जरिवाना गराइएको छ ।

बासी र गनाइसकेको खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गराएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए । खाना बासी, गनाएको र दूषित रहेको भन्ने गुनासो गर्दा सञ्चालकले ग्राहकलाई गालीगलौज समेत गरेको पाएको उनले बताए ।

‘उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ उपदफा १ ९ख० बमोजिम दुई लाख जरिवाना गरिएको छ । जरिवाना तथा सजाय चित्त नबुझेको खण्डमा पुनरावेदन जान सकिनेछ’, उनले भने ।

सहायक प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार आइतबार बिहान एक उपभोक्ताले प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर न्यू रिया होटेलले बासी, सडेगलेको खानेकुरा बिक्री गरिरहेको गुनासो गरेका थिए । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय धादिङमार्फत प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी टोली होटेलमा पुगेको थियो ।

‘फ्रिजमा राखेको खानेकुरा समेत गन्हाएको फेला परेपछि वडाध्यक्षसहित जनप्रतिनिधिको रोहबरमा मुचुल्का गरी होटल सञ्चालकलाई गिरफ्तार गरी ल्यायौँ’, सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘बिहान बिक्री गरिरहेको खानेकुरा अघिल्लो दिनमा नै बनाएर फ्रिजमा राखेको र तापक्रम नमिलेकाले गन्ध आएको स्वीकार गरेकाले उपभोक्ता संरक्षण ऐनबमोजिम जरिवाना तोकिएको हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web