देशभर १० जनामा हैजा सङ्क्रमण पुष्टि

साउन १२, २०८१ मा प्रकाशित | 262 views

देशभर १० जनामा हैजा सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर अहिलेसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको हो । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो । हैजाका जीवाणु सङ्क्रमित खाना वा पानीको पानी पिउँदा हैजा लाग्ने गर्दछ । हैजा सङ्क्रमण भएका मानिसले तत्कालै उपचार नपाएमा केही घण्टामै सङ्क्रमितको ज्यानै जान सक्ने विज्ञ बताउँछन् ।

पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुने, धेरै तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने जस्ता लक्षण देखिएमा हैजा परीक्षण गराउन डाक्टरको सुझाव छ ।

हैजालगायत पानीजन्य रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी पिउने, खानेकुरालाई राम्ररी पकाएर खाने, खाना बनाउनु अघि र खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नु अघि, बाहिर सामान छोएपछि साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिचि हात धुनुपर्ने विज्ञको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web