‘ढिकुरे–गोल्फुभञ्ज्याङ’ सडक योजना कटाएपछि नुवाकोटका जनप्रतिनिधिको ध्यानाकर्षण

साउन १२, २०८१ मा प्रकाशित | 163 views


त्रिशूली । नुवाकोटका जनप्रतिनिधिले ‘ढिकुरे–लब्दु–समुद्रटार–गोल्फुभञ्ज्याङ’ सडक कालोपत्रको प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई शुक्रबार उहाँकै कार्यकक्ष सिंहदरबारमा भेटी नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महत नेतृत्वको जनप्रतिनिधिको समूहले स्रोत सुनिश्चित भएर ठेक्का प्रक्रियामा अघि बढेको सडक यसअघिको सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा रोकेको जानकारी गराएको हो ।

प्रतिनिधिमण्डलको कुरा सुनिसकेपछि मन्त्री दाहालले अर्को मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने गरी फाइल तयार पार्न मन्त्रालयका सचिव गोपाल सिग्देललाई निर्देशन दिनुभएको छ ।

मन्त्रीलाई ध्यानाकर्षण पश्चात काँग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले आफू अर्थमन्त्री हुँदा स्रोत सुनिश्चित गराएको भएपनि उक्त सडकको काम सरकार परिवर्तन हुने बित्तिकै राजनीतिक पूर्वाग्रहको आधारमा ठेक्का प्रक्रिया रोकिँदा जनताको विकास पाउने अधिकार बञ्चित भएको बताउनुभएको छ । ६७ किलोमिटर सडक कालोपत्रका लागि एक अर्ब ३३ करोड रुपैया स्रोत सुनिश्चित भइसकेको उहाँले जानकारी दिनुभएको छ ।

यो सडक कालोपत्र भएपछि नुवाकोटका विभिन्न आधादर्जन पालिकासँगै सिन्धुपाल्चोकका हेलम्बु गाउँपालिकाको सर्वसाधारण समेत लाभान्वित हुने भएका छन् । नुवाकोटका सूर्यगढी, लिखु, दुप्चेश्वर र तादी गाउँपालिकाका स्थानीयवासी सडकबाट लाभान्वित हुने भएका छन् भने दुप्चेश्वर मन्दिर जाने धार्मिक पर्यटकलाई सडकले सहज हुने भएको छ ।

प्रतिनिधिमण्डलमा लिखु गाउँपालिका अध्यक्ष ध्रुुव श्रेष्ठ, सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घले, दुप्चेश्वर गाउँपालिकाको वडा नं ३ का वडाअध्यक्ष ध्रुव केसी लगायतका जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web