त्रिशूली अस्पताल नुवाकोटमा सिटी स्क्यान सेवा सुरु, शुल्क पनि सहुलियत

त्रिशूली, नुवाकोेट । त्रिशूली अस्पताल नुवाकोटमा सिटी स्क्यान सेवा सुरु भएको छ ।

बागमती प्रदेस सरकारको आर्थिक लगानीमा जडान गरिएको सिटी स्क्यान उपकरण मार्फत बिरामीको जाँच तथा परीक्षण सुरु भएको त्रिशूली अस्पतालका निर्देशक डा.राजेन्द्र लामाले जानकारी दिनुभयो ।

उहाँको अनुसार यसअघि जिल्लामा सिटी स्क्यान सेवा सञ्चालन नहुदाँ उक्त उपकरणको सहायताले पत्ता लगाउनुपर्ने रोगका बिरामीलाई काठमाडौ जानुपर्ने बाध्यता अब अन्त्य भएको छ ।


“जिल्लाको सरकारी अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउदा बिरामीलाई सहुलियत शुल्कमा परीक्षण गराउन सकिने सुविधाजनक अवसर प्राप्त भएको छ ।” निर्देशक लामाले भन्नुभयो “बिरामीको रोग पत्ता लगाउन सहज भएसगैँ अस्पतालले प्रवाह गर्ने सेवा र अस्पताल प्रतिको विश्वास समेत बढाउन उल्लेख्य सहयोग पुग्नेछ ।”


शरिरको भित्री अङ्गका रोग तथा चोटपटक थाहा पाउन अतिनै महत्वपूर्ण मानिने सिटीस्क्यान उपकरणले मस्तिष्क, टाउको, घाटी, छात्ति, पेट, आन्द्रा, कलेजो, फोक्सो, नशा लगायत शरीरको भित्र अङ्गका रोगको पहिचानको लागी निकै प्रभावकारी मानिने गरिएको छ ।
सिटी स्क्यान उपकरणका सहायताले सघन प्रकृतिका रोगको समस्या पहिचान गरेर त्यसको समयमै निदानको लागी प्रभावकारी मानिने निर्देशक लामाको भनाई छ ।

अस्पतालले सिटी स्क्यान सेवा उपभोगको लागी रोगका प्रकृति र जाँच गर्नुपर्ने अबस्था हेरेर रु तीन हजार देखि रु आठ हजारसम्म शुल्क निर्धारण गरेको छ । उक्त शुल्कमा स्वास्थ्य बीमा गरेका बिरामीले १० प्रतिशत मात्रै नगद भुक्तानी गरे हुने भएकाले बिरामीले रु. एक हजार भन्दाकम शुल्कमा नै सिटी स्क्यानको सबै सुविधा उपभोग गर्न पाउनेछन् ।

-रामहरि न्यौपाने ।

प्रतिक्रिया

TOP