
त्रिशूली । अबिरल वर्षासगैँ आएको भलबाढीको कारण गएको पहिरोले सूर्यगढी गाँउपालिका वडा नं. ४ अर्चलेमा एकघर र पसल बगाएको छ । छेउछाउका एकदर्जन घरपरिवार जोखिममा परेसगैँ सुरक्षित स्थानमा सरेका छन् । सोमबार रातीदेखि परेको वर्षाको कारण सालघारीको भल आउदा हल्देकालिकाको अर्चलेमा कमलबहादुर तामाङको घर र उहाँले सञ्चालन गर्दै आएको किराना पसल बगाएको हो ।
हिजो बिहानको करीब ३ बजे राती बस्ती माथीबाट आएको पहिरोले कमलबहादुरको परिवार बसोबास गर्दै आएको घर र उहाँको पसललाई बगाएर पूर्ण रुपमा क्षति पुराएको छ । पहिरोले घर र पसल बगाउदा लाखौ रुपैयाँ लगानीमा बनाएको घर र पसलको संरचना पूर्ण क्षति भएको छ भने घरपसलमा रहेका धनसम्पत्ति पनि क्षति भएको छ ।
किराना पसल बगाउदा त्याहाँ रहेका करीब दश लाख रुपैयाँ बराबरको सामाग्रिहरु पहिरोमा पुरिएर नोक्सान भएको छ । यस्तै, घरमा रहेको अन्नबाली, लत्तकपडा, भाडावर्तनहरु सबै घरसगैँ पहिरोले बगाएर क्षति पुराएको छ । बस्ती माथीबाट आएको पहिरोले सोही स्थानका अन्य एक दर्जन घरपरिवार उच्च जोखिममा रहेको पहिरोबाट पीडित हुनुभएका राजकुमार तामाङले गुनासो गर्नुभयो ।
पहिरोको कारण उहाँ सहित रामकुमार तामाङ, सुवास तामाङ, शुकबहादुर रुम्बा, शुकबहादुर तामाङ, भैरवबहादुर तामाङ, प्रेमबहादुर तामाङ, सराज तामाङ,रामकृष्ण तामाङको परिवार नजिकैको सुरक्षित स्थानमा सरेका छन् । सालघारीको भल जम्मा भएर आएको भलबग्ने कुलो फुटेर बगेको पहिरोले बस्ती नै बगाउने अबस्था बनाएसगैँ ज्यान जोगाउन सुरक्षित स्थानमा सरेकाले सरकारीस्तरबाट थप सहयोगको आशा गरेको पीडित परिवारले गुनासो गरेका छन् ।
पहिरोले घर जोखिममा परेपछि ज्यान जोगाउन नजिकैको खुला स्थान र आफन्तको घरमा बसोबास गर्दै आएकाहरुले आफूहरुको बसोबास स्थान छाडेर अन्यत्र जादा पशुचौपाय, खेतीबाली समेत भएको अहिले बसोबास गर्दै आएको स्थानको पहिरोलाई नियन्त्रण गरेर बस्ती सुरक्षित बनाइदिन सरकारी निकायका प्रतिनिधिसंग माग गरेका छन् ।
उक्त स्थानमा १५ वर्ष अगाडी पनि पहिरो गएर क्षति पुराएको र उक्त समयमा अन्यत्र सर्न जग्गा अभावले सोही स्थानमा बसोबास गर्न बाध्य भएका स्थानीयहरु यो वर्षको पहिरोबाट पीडित भएका छन् । पीडितलाई गाँउपालिका, रेडक्रस नुवाकोट शाखा, प्रहरी लगायतले उद्धार, स्थान्तरण र पुर्नस्थापनाको लागी पहल सुरु गरिसकेको जनाएको छ ।
25.7¡ÆC