विदेशमा एकैवर्षमा १३ सय नेपालीले गुमाए ज्यान

साउन ८, २०८१ मा प्रकाशित | 199 views


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नेपालीको शव ढुवानी गर्न १६ वटा गाडी राखिएको छ । 

वैदेशिक रोजगारीका क्रममा मृत्यु हुने नेपालीको संख्या बढ्न थालेपछि वैदेशिक रोजगार बोर्डले शव ढुवानी निम्ति विमानस्थलमा उक्त संख्यामा गाडीको व्यवस्था गरेको हो । वैदेशिक रोजगार बोर्डका प्रवक्ता टिकाराम ढकालका अनुसार, बोलपत्र आव्हान गरी चार वटा कम्पनीका गाडीको व्यवस्था गरिएको हो ।

वैदेशिक रोजगारीका क्रममा विदेश मृत्यु भएकाहरूको शव काठको बाकसमा ल्याइन्छ । ती गाडीको काम विमानस्थलबाट सम्बन्धित जिल्ला तथा गाउँसम्म पुर्‍याउनु हो ।

गत आर्थिक वर्ष वोर्डले ३०८ जनाको शव विदेशबाट आफ्नै खर्चमा झिकाएको थियो । विदेशबाट शव ल्याउँदा धेरै खर्च लाग्छ । केहीको शव रोजगारदाता कम्पनीले पठाइदिन्छ । तर केहीको भने परिवार आफैँले ल्याउनुपर्ने हुन्छ । जुन परिवारले शव झिकाउन सक्दैनन् त्यस्ता शव वोर्डले आफ्नै खर्चमा नेपाल झिकाउने गरेको छ ।

“वैदेशिक रोजगारीमा मृत्यु भएकाहरूको शव विमानस्थलमा ल्याएपछि केही परिवार आफैँले लैजान्छन् । बाँकीको शव वोर्डले यिनै गाडीमा राखी सम्बन्धित जिल्ला तथा गाउँमा परिवारलाई बुझाउने गरिन्छ,” प्रवक्ता ढकालले भने । शव ढुवानी सेवा वोर्डले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

ढकालका अनुसार, गत आर्थिक वर्ष २०८०/८१ मा मात्र वैदेशिक रोजगारीका गएकामध्ये १ हजार ३५५ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकामध्ये ७५५ जनाको शव त्रिभुवन विमानस्थलबाट सम्बन्धितको गाउँसम्म वोर्डले पुर्‍याएको थियो । 

गत आर्थिक वर्ष १ हजार ३१३ जना पुरुष र ४२ जना महिलाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका थिए । सो आर्थिक वर्ष अर्थात् २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्मको अवधिमा वैदेशिक रोजगारीका गएकामध्ये दैनिक औसत करिब ४ जनाको मृत्यु भएको छ ।   

“गत आर्थिक वर्ष हामीले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १३ सय ५५ जनाको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएका छौं,” वोर्डका प्रवक्ता ढकालले बताए ।

आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीमा मृत्यु भएका १ हजार ३५५ जनाको नजिकका परिवारलाई वोर्डले आर्थिक सहायतास्वरुप ४२ करोड ७१ लाख २५ हजार रुपैयाँ उपलब्ध गरेको छ । 

प्रवक्ता ढकालका अनुसार, श्रम अवधिभित्र वा सकिएको एक वर्षभित्र वैदेशिक रोजगारीमा गएकाहरूको मृत्यु भएमा नजिकको परिवारलाई सात लाख रुपैयाँ उपलब्ध गराउँदै आएका छौं । श्रम अवधि सकिएको एक वर्षपछि मृत्यु भएकाको परिवारलाई आर्थिक सहायतावापत २५ हजार रुपैयाँ उपलब्ध गराउँछौं ।

गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग तथा विरामी भएको ५५६ जनालाई आर्थिक सहायता स्वरुप १६ करोड ९१ लाख ७१ हजार रुपैयाँ प्रदान गरिएको उनले जनाए । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीका क्रममा १ हजार २०८ नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका थिए । मृत्यु हुनेमा १ हजार १६३ पुरुष र ४५ महिला थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web