बेपत्ता बस र यात्रु खोज्न भारतीय टोली नेपाल आइपुग्यो

साउन ५, २०८१ मा प्रकाशित | 190 views


काठमाडौँ । नारागणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेका दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोली नेपाल आइपुगेको छ।

भारतको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि गएराति सुनौली नाका हुँदै नेपाल आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । उहाँकाअनुसार टोली भैरहवामा बसेर घटनास्थल चितवनतर्फ आइपुग्दैछ।

टोलीले आजैदेखि काम थाल्ने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो । पानीमुनि खोजी गर्न प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित टोली आएको छ । भारतीय उद्धार टोलीले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएका जानकारी प्राप्त भएको छ ।

उनीहरु सशस्त्र प्रहरीको एक टोलीका साथ घटनास्थल पुग्दै छन् । नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो । गएको असार ३१ गते भारतबाट विज्ञसहितको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको थियो ।

गएको असार २८ गते शुक्रवार वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको एञ्जल डिलक्स र काठमाण्डौबाट गौर जाँदै गरेको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा हराएका हुन् । ती बसमा रहेका ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएकोमा हिजोसम्म २३ जनाको शव विभिन्न क्षेत्रमा भेटिएको छ ।

अझै ३९ यात्रुको अवस्था थाहा हुन सकेको छैन । यो दुर्घटनाको अध्ययन गर्न गृहमन्त्रालयले गठन गरेको कार्यदलले काम गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web