दिनेश सर र हाम्रो मालिका ‘स्कुल’

साउन ५, २०८१ 2024-07-20 मा प्रकाशित
Published at 2024-07-20

2123 views

-नारायण नेपाल

लामो समय पछि मालीका माबिले निमन्त्रणा गरेको रहेछ । मध्ये असार किसानलाई खेतिको चटारो बिचमा शिक्षक अभिभावक बिचको छलफल उति सान्दर्भिक थिएन तैपनि एइई परिक्षाफल र तातेको मौसममा यो एउटा पहल थियो सायद ।‍काम र परिणामको प्रतीक्षामा छन धेरै । म भेला सहभागी थिए ।अनेकौं अनुभुती छन् र अनेक उद्देलना उम्लिरहेको थियो । इतिहासको साक्षी रेवती नेपाल सुर्य बहादुर तामाङ थिए भने एक असल गुरु आमा रमा पौडेल । साख भनेको पाउन कमाउन भन्दा जोगाउन जटिल छ ।

...एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा... भन्ने नारायण गोपालको गीतजस्तै एउटा मान्छेको प्रयासले एउटा सामाजिक संघसंस्था अथवा एउटा सामाजिक अभियान कसरी फरक मोडमा पुग्छ भन्ने कुराको उदाहरणका रुपमा अनेकौँ पात्र र प्रवृत्तिहरूलाई लिन सकिन्छ । कुनै समय गुमनाम रहेको नुवाकोटको पृथ्वी माविको आजको अब्बलता र कुनै समय नुवाकोटमा अब्बल रहेको मालिका माविको आजको दुर्गतिलाई नै यसका उदाहरण हुन् ।

एउटा शिक्षक समाजको आदर्श नायक हुँदा समाजले कायापलट गर्नेरहेछ । हाम्रो बाल मनोविज्ञानमा सामाजिक रूपान्तरणको एउटा छाप पार्ने एउटा आदर्श पात्र शिक्षकको सरुवा र बढुवाको एउटा प्रक्रियामा झिल्टुङ देउराली आइपुगेका थिए शिक्षक दिनेश कुमार राय । जब उनी यहाँ आए तब मालिका स्कुलले नुवाकोट प्रथममा नाम लेख्न सफल भयो । त्योबेला त्रिभुवन त्रिशूली स्कुलमा नुवाकोटका चर्चित शिक्षक शारदामान श्रेष्ठ प्रधानाध्यापक थिए । जिल्लाका कैयौँ नाम चलेका स्कुललाई पछि पार्दै मालिका मावि नुवाकोट प्रथम भएको थिए ।

मालिकामा दिनेश सर आउँदा 'तराईबासी शिक्षकहरु मूलतः जागिर खान मात्रै आएका हुन्', 'केही मतलब छैन ऊनीहरुलाई हाम्रो समाजको' भन्नेहरु पनि नभएका होइनन् । तर हाम्रो बाल मनोविज्ञानमा भने ती सरको यस्तो छाप परेको थियो कि, लाग्थ्यो यो क्षेत्रमा शैक्षिक विकासमा कायपलट गर्ने एउटा अभियानको नायकका रुपमा उनी हाम्रो गाउँमा आएका थिए । उनको योगदान र पसिनालाई हामीले कदापी भुल्नेछैनौँ ।

उनी जतिसमय त्यहाँ रहे, त्यो समय अविस्मरणीय नै बनाए । जुन समयसम्म हामी (विद्यार्थी) सुत्दैनथियौँ, जतिबेलासम्म हामी जागै हुन्थ्यौँ त्यतिबेलासम्म हाम्रा शिक्षक पनि जागै हुन्थे । शिक्षकको त्यो खटन देखेको मलाई अहिले पनि लाग्छ कि, आज विद्यार्थीले कति पढ्छ भन्दा पनि शिक्षकले कसरी विद्यार्थी र अभिभावकलाई उत्प्रेरित (motivate) गर्छ अथवा सकारात्मक ढंगले प्रोत्साहन गर्छ ? त्यो उसको नायकीय चरित्रमा हुने गुणले प्रभाव पार्ने कुरा हो । त्यसैले शिक्षकले विद्यार्थी मात्र होइन, अभिभावक समुदाय र समाजलाई नै पढ्नुपर्छ र पढाउनुपर्छ अर्थात् विद्यार्थीलाई पढ्न जरुरी छ । हज्जारौँ प्रहार, ठक्कर अपमान र अभाव खेपेर मात्रै स्वाभिमानपूर्वक देउरालीको यो डाँडामा उभिएका थिए हाम्रा दिनेश सर । उनी त्यो दुशाध्य शैक्षिक यात्राको आत्मकथाजस्तै हुन्, जो आजका पुस्ताले किताबमा नपढेको अमुल्य ज्ञानसरह थिए ।

पछिल्लो समय एसईईको रिजल्टसँगै विद्यालयका व्यवस्थापन र प्रशासनका बारेमा धेरै टिकाटिप्पणी जारी छ । चर्चा र बहसका बिच केही वर्षअघि सार्वजनिक भएको हिन्दी सिनेमा म्याडम गितारानी युट्युटबमा धेरैले हेरेका छन् । सिनेमामा वास्तवमै नेपालका सामुदायिक विद्यालयको अवस्था र त्यसका प्रशासकहरूको भूमिकासँग पूरापूर मेल खाने एउटा यथार्थ चित्रण गरिएको छ । हाम्रो सामुदायिक शिक्षा विकासका समस्या, शिक्षक, अभिभावक र विद्यार्थी बिचको एउटा उचित नायकको रूपमा हिन्दी कथानक चलचित्र म्याडम गीता रानी र त्यसकी मुख्य पात्रलाई लिन सकिन्छ । दिनेशसरले मालिकामा भोगेको कथा ब्यथाको चलचित्रमा उतार्ने हो भने अझै अब्बल फिल्म बन्न सक्थ्यो ।

हुनत नुवाकोटको शिक्षा विकासको आन्दोलनलाई नियाल्ने हो भने हामीले यसलाई फरक ढंगले पनि बुझ्न सक्छौँ । जतिबेला नुवाकोटमा राजनीतिक दल र विचारको प्रतिबन्ध थियो । त्यतिबेला वामपन्थी विचार बोक्ने प्रगतिशील कम्युनिष्टहरू शिक्षकको आवरणमै शिक्षा क्षेत्रमा छिरेर समाजमा ज्ञानको ज्योति बढाएका थिए । जसको आदर्श नायकका रूपमा निर्मल लामाको चौथो महाधिवेशन समूहका गणेश पण्डित, यसैगरी गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहका समर्थक दिलिप चौधरी (जो हालसम्म शैक्षिक आन्दोलनबाट बेपत्ता भएका छन्), राम कार्की, शारदारमण नेपाल, चन्द्रकान्त पौडेल, युगेश्वर यादव लगायतका तमाम शिक्षकहरूलाई लिन सकिन्छ । जसले शिक्षाको ज्योति र कम्युनिस्ट क्रान्तिको चेतना सँगसँगै समाजमा विस्तार गरे । जसको नामले पनि समग्र नुवाकोटको शैक्षिक आन्दोलन र सामाजिक जागरण आन्दोलनप्रति अथाह सम्मान प्रकट हुने गर्दछ ।

हाम्रो सामाजिक दरिद्रता र विभिन्न सामाजिक र राजनीतिक अन्तरविरोधलाई छिचोल्दै विद्यालयको स्तरउन्नति र शिक्षाको क्षेत्रमा सुधार गर्न अनेकौँ प्रयास गर्दै शिक्षक दिनेश राय एउटा अमिट छाप छोडेर हाम्रो माझबाट बिदा भए र आफ्नै समाजमा फर्किए । हिजोआज म धेरै सम्झन्छु विगतका ती दिन हाम्रा संघर्षका दुःखका दिन । जब बाहिर बोक्रो र भित्र खोक्रो बनाउने काममा केही छिचिमिराहरुको छत्रछाँयामा विद्यालय चल्न थाल्यो भने दुर्गतिको यात्रा त्यहीबाट सुरु हुन्छ । पछिल्लो समय त्यो धमिराकोहुल त्यहाँबाट त हिड्यो । तर मालिका माविले शैक्षिक यात्रामा अझै बामे सर्न सकेको छैन । व्यवस्थापन, प्रशासन र शिक्षक, अभिभावक तथा विद्यार्थी बिचमा राम्रो सामन्जस्यता कामय हुन सकेको पनि देखिएन । बदलिँदो परिवेशमा हामी कहाँ छौँ ? हाम्रो समुदाय कहाँ छ । हाम्रो चेतना स्तर के छ ? जस्ता सवालले समाज रुपान्तरण र नायकीय भूमिकाको निर्धारण गर्छ । एउटा गल्ती छोप्न अरु दश गल्ती नगरौँ बरु कि सुधार गरौँ कि समाप्त होऔँ । अब बाटो रोजौँ ।
हर गोधुलीमा दिनहरु, गलोस् भन्दिनँ म
हर प्रहरमा सपनाहरु, जलोस् भन्दिनँ म ।

आफैँले रोपेको हो त्यो, वर पिपल चौतारी
अनयासै आधी आउँदा, ढलोस् भन्दिनँ म ।

घाम पानी ,हुरी बतास खप्ने सतिसाल हो
मुल खामो ढले जस्तै ढलोस भन्दिन म।

यो स्कुल फलानोको बिर्ता हो ...आदि इत्यादि गफ चिया चौतारीमा हुन्छ । हिजो खरबनको काठ स्याउलाले पाठशालाको खामो गाड्ने पुस्ताको अपमान आफैमा खराब प्रवृत्तिले गरेको कति पनि सुहाउँदैन । त्यही कटुसको स्याउलाको छाप्रोमा साँवा अक्षर चिनाउने अभियानमा हो भक्तबहादुरले मास्टर उपाधी पाएका । पछिल्लो समय उनी स्कुलमा कार्यलय सहयोगी बने, दिवङ्गत उनको अश्रुधाराले धेरैलाई आज भतभती पोलिरहेको देख्छु म ।

हिजो जति बेला यो गाउँमा स्कुल चाहिन्छ भन्ने अभियानमा मेरा बा ढुन्डिराज नेपाल र रामबहादुर तामाङ लगायतले सुरु गरेका थिए, त्यतिबेला गरिबका छोराले स्कुल पढे भने गाउँमा हली पाइँदैन भनेर भ्रम छर्ने एकाथरी सामन्ती पन्चजमात पनि कम त थिएन । तिनैका सन्तान दर सन्तान र झडकेलाहरुको आजको लोकतान्त्रिक चरित्र पनि उस्तै सामन्ती नै छ । समाज भडुँवा र यस्ता विधर्मीहरुले मालिका माविको शैक्षिक सुधार अभियानलाई नजन्मँदा नै अवरोध सिर्जना गरेको हुनाले त्यो अभियान कुनै न कुनै रुपमा आजसम्म जारी छ भन्ने हामी सबैले बुझ्न जरुरी हुन्छ ।

स्थानीय सरकार दैलोको सरकार हो । तालुकदार अखडा पनि हो । तर त्यहीँ नै चाप्लुसी, चाकरी र ताबेदारी खोज्छन् । हरेक वर्ष अभिभावक भेला हुन्छ । अतिथि आगन्तुकहरुले राजनीति कुन्ठाको वमन गर्ने थलो बन्छ । को ल्याउने अतिथि भने होडबाजी नै चल्छ । तर अभिभावक भेलामा अभिभावकको दुखेसो, विद्यार्थीको चाहना र शिक्षकका समस्या बारेमा बहसले पालो पाउँदैन । हाम्रो लाई राम्रो बनाउने र राम्रोलाई हाम्रो बनाउने अभियान चलाए हुदैन र ? बिडम्बना २१ औँ शताब्दीमा विज्ञान प्रविधिको युगमा गाउँको अध्ययन केन्द्र, गाउँको ज्ञान केन्द्र बन्नुपर्ने शिक्षालय केवल प्रमाणपत्रको छपाइ अखडा मात्रै बन्दैछ, जति जिपिए ल्याए पनि जति नै अब्बल भएपनि देश छोडेर जाने परिस्थितिको अन्त्य नभई केही होला जस्तो लागदैन ।

अझै केही विद्वानहरुले सभ्य शब्दमा उल्लेख गरेको पनि देखेको थिएँ कि स्कुल लाखौँ घाटाबाट स्कुल माथि उठेको छ । अरे स्कुल पनि घाटा र नाफामा किन, कसरी, के, कति आयो, कति गयो ?हामीले बहसमा ल्याउन जरुरी छ । बदमासी कस्को के हो मज्जाले बुझ्न जरुरी छ । रु. दशको कलम किन्न पसल पुग्ने प्रशासन र व्यवस्थापनको लिगलिगे दौड प्रवृत्ति अहिले बन्द होला कि कहिले बन्द होला ? अडिटरले कागजमा छाप मात्रै होइन जनताबाट पनि अडिट हुनुपर्छ । देखिएका भन्दा नदेखिएका सवाल धेरै होलान् अझै । महाकवी लक्ष्मीप्रसाद देवकोटा भन्नुहुन्छ, 'अध्ययन गर्दा कहिले मर्दिनँ भनेर गरौँ, तर व्यवहार गर्दा भोलि मर्छु भनेर गरौँ । स्वार्थ र लापरबाहीको केन्द्रमा परेको मालिका माविलाई सुधार गर्न तपाईं हामीले के कस्तो अभियान चाल्न सक्छौँ गरौं । जो हाम्रा बालबालिकाको भविष्यमा दीर्घकालीन असर पर्ने परिणामलाई अन्त्य गर्दै असल मार्ग तय गर्न लाग्ने छ । त्यो अभियानमा लामबद्द सबैलाई धन्यवाद ,शुभकामना ।

यो बसिबियालोमा सम्झिएँ मैले हाम्रो आदर्श गुरु दिनेश राय सर, हिन्दी कथानक चलचित्रका नायिका प्रधानाध्यापक म्याडम गिता रानी र बालबालिकाको भविस्य बोकेको मालिका पाठशालाको अवस्थामा सुधार ल्याउने सम्पूर्ण प्रयत्नशील मनहरुमा धन्यवाद ।रत्नपार्कको चटकेले जादु देखाएर औँठी बेचे जस्तो ब्यापार नगरौ मालिका मावि सुधार अभियान जारी रहोस् सबैलाई शुभकामना ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.