
काठमाडौँ । परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको छ । अस्पतालमा आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा चार प्रतिशत बढी शल्यक्रिया गरेर नवजात शिशु जन्माउने सुत्केरी बढेका हुन् ।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीकाअनुसार आर्थिक २०८०/८१ मा ४३ प्रतिशत अर्थात् नौ हजार ६ सय जना महिलाले शल्यक्रियामार्फत शिशु जन्माएका थिए । यो अवधिमा अस्पतालमा २२ हजार दुई सय ७० जना महिला सुत्केरी भएका थिए । आर्थिक वर्ष २०७९/८० मा ३९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएका थिए ।
अस्पतालका निर्देशक डा. अधिकारीले पहिलो पटक शल्यक्रिया गरेर शिशु जन्माएका आमाले दोस्रो पटक शिशु जन्माउँदा पनि शल्यक्रिया गर्नुपर्ने, निःसन्तान भएका र प्रसव पीडा खप्न नसक्ने आमाको शल्यक्रिया गरेर बच्चा जन्माउने गरेको बताउनुभयो ।
यस्तै ढिलो उमेरमा शिशु जन्माउँदा जोखिम हुने भएकाले पनि शल्यक्रिया गर्ने अवस्था आउने निर्देशक डा. अधिकारीले बताउनुभयो । अस्पतालमा दैनिक ६० देखि ७० जना सुत्केरी हुने र तीमध्ये २० देखि २५ जनाको शल्यक्रियामार्फत शिशु निकाल्ने गरिएको छ ।
नेपालमा मातृ मृत्युदर एक लाखमा एक सय ५१ र बाल मृत्युदर एक हजारमा २१ जना रहेको छ ।
22.74¡ÆC