लगानी सहजीकरणसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

असार २३, २०८१ मा प्रकाशित | 305 views


काठमाडौँ । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ राष्ट्रिय सभाको बैठकबाट पारित भएको छ ।

प्रतिनिधि सभाबाट प्राप्त विधेयकमाथिको दफावार छलफलपछि राष्ट्रिय सभाबाट पारित भएको हो । सभामा प्रधानमन्त्री एवम् उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्नुभएको थियो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले लगानी सम्मेलनका बेला व्यक्त प्रतिबद्धताअनुरूप लगानी प्रवर्द्धन गर्न कानुनको आवश्यकता रहेकाले अध्यादेशमार्फत कानुन जारी गरिएको बताउनुभयो । उहाँले अबको तीन दिनभित्र राष्ट्रपतिबाट कानुन प्रमाणीकरण गराउन नसके शून्यमा झर्ने भएकाले हतार गरेको बताउनुभयो ।

यसैबीच प्रतिनिधि सभामा उत्पत्ति भएको लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश प्रतिनिधि सभामा टेबल भएको छ ।

प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबल गर्नुभएको हो । विधेयक अब प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउने बाटो खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web