देशका धेरै ठाउँमा दिनभर झरी पर्ने, नदी र खोलामा बाढी

असार २२, २०८१ मा प्रकाशित | 158 views


काठमाडौँ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । आज दिनभर झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो पनि सबै प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना छ ।

आज राति पनि कोशी र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रातिदेखि नै पानी परिरहेका ठाउँका नदी र खोलामा बाढी आएको छ ।

काठमाण्डौ उपत्यका भएर बहने बागमती नदीसहित नारायणी, पश्चिम राप्ती, कालीगण्डकी र कोशी नदीमा पानीको सतह खतराको तह नजिक पुगेको छ । पानी परिरहेका ठाउँका नदी खोला किनारमा बस्नेलाई उच्च सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

ललितपुरको बागमती नदी खोकना जलमापन केन्द्रमा जल सतहले खतराको तह पार गरेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले भनेको छ । तिनाउ नदी, पश्चिम राप्ती, कोइली नदी, डुम्रे खोला, बडिगाड, बबई नदी लगायत क्षेत्र भइ बहने अरू स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा बस्नेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अर्घाखाँचीको सन्धिखर्क, गुल्मीको बडिगाड, स्याङजाको मालुङ्गा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा मापन भएको र ती क्षेत्र भइ बहने ससाना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा रहनेलाई उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ ।

महाशाखाले भोलिसम्म देशका विभिन्न ठाउँमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आज देशभरका धेरै स–साना नदीमा बहाव बढ्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीमा आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web