पानी पर्न थालेपछि डेङ्गीको सङ्क्रमण बढ्यो

असार २१, २०८१ मा प्रकाशित | 167 views


काठमाडौँ । दिनहुँ पानी परिरहेकाले डेङ्गीको सङ्क्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा सङक्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

सबैभन्दा बढी काठमाण्डौमा एक सय ५९ जनामा डेङ्गी देखिएको छ । झापामा एक सय २० र चितवनमा ८३ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । डाक्टर दाहालले पानी सङ्कलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गीको जोखिम बढेको जानकारी दिनुभयो । पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्दछ ।

किटजन्य रोग शाखाका प्रमुख डा. दाहालले डेङ्गी सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । डेङ्गीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्ने भएकाले घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता विषयमा ध्यान दिन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web