
नुवाकोट । नुवाकोटमा लागू पदार्थ सेवन गरी सवारी चलाउने तीनजना चालक कारबाहीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोट, जनस्वास्थ्य कार्यालय नुवाकोट र जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको संयुक्त सहकार्यमा आज विदुर नगरपालिका वडा नम्बर ४ बिदुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा चेक जाँचको क्रममा तीन जना लागू पदार्थ सेवन गरी सवारी चलाएका चालकलाई नियन्त्रणमा लिइएको हो ।
दुर्घटना न्यूनीकरण तथा लागू पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई दुरुत्साहन गर्ने उद्देश्यका साथ गरिएको चेकजाँचका क्रममा २५ वटा विभिन्न सवारी साधनका चालकहरूले लागु पदार्थ सेवन गरे/नगरेको चेकजाँच गरिएकोमा लागू पदार्थ सेवन गरी सवारी हाँकेका दुईवटा मोटरसाइकल चालक र एक वटा माइक्रो बसका चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख जे जङ्ग कार्कीले जानकारी दिनुभएको छ ।
नुवाकोटमा दुर्घटना न्यूनीकरण गर्न र यात्रुहरूको सुरक्षित यात्राका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले ठाउँ ठाउँमा पर्चा पम्प्लेट टाँस्ने , ट्राफिक चिन्ह र ट्राफिक नियमबारे जनचेतना फैलाउने , सवारी साधनहरूको अवस्थाबारे चेक जाँच गर्ने, सवारी चालकको स्वास्थ्य परीक्षण गर्ने लगायतका विभिन्न अभियानहरू सञ्चालन गर्दै आइरहेको छ ।
27.4¡ÆC