योजना कार्यान्वयनको माग गर्दै कांग्रेसको खबरदारी सभा

जेष्ठ २९, २०८१ 2024-06-11 मा प्रकाशित
Published at 2024-06-11

107 views

त्रिशूली (नुवाकोट) । नुवाकोटको ‘गगङ्टे–गोल्फुभञ्याङ सडक’को स्तरोन्नतिका लागि विनियोजित बजेट कार्यान्वयनको माग गर्दै आज नेपाली कांग्रेस नुवाकोट निर्वाचन क्षेत्र नं १ ले खबरदारी सभा गरेको छ ।

अस्फाल्ट प्रविधियुक्त कालोपत्रेसहितको सडकको स्तरोन्नति गर्न बोलपत्र आह्वान भए पनि निर्माण व्यवसायी छनोट गरेर काम गर्न कार्यदेश नदिएपछि योजना कार्यान्वयनका लागि दबाब दिन कांग्रेस नुवाकोट निर्वाचन क्षेत्र नं १ ले खबरदारी सभा सुरु गरेको हो ।

उक्त सडकको स्तरोन्नतिबाट लाभ पुग्ने भूगोललाई केन्द्रित गरेर ढिकुरे बजारबाट सुरु भएको खबरदारी सभालाई सम्बोधन गर्दै यहाँका कांग्रेसका नेताहरुले एक साताभित्र योजना कार्यान्वयनको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।

संविधानसभा सदस्य तथा पूर्वजिल्ला सभापति जगदिश्वरनरसिंह केसीले अर्थ मन्त्रालयबाट रु एक अर्ब २० करोडको स्रोत सुनिश्चित गराइ लगाएको ठेक्काको प्रक्रिया अघि नबढेको बताउनुभयो । “जिल्लाको निर्वाचन क्षेत्र नं १ र विशेष गरेर दुर्गम बस्तीलाई सहरसँग जोड्न पाँच दशकअघि सुरु भएको सडक निर्माण पूरा हुन लाग्यो भन्ने आशा जागेको थियो । तर, ठेक्का लगाएर प्राविधिक अध्ययन अघि बढेको फाइल रोकिएको अवस्था छ”, केसीले भन्नुभयो ।

चालु आवमा बहुवर्षीय स्रोत सुनिश्चित भएको सडक स्तरोन्नतिको बजेट नआएको भन्दै कांग्रेस नुवाकोटका सभापति एवं बागमती प्रदेससभा सदस्य रमेश महतले जनताको सेवा प्रवाहमा पूर्वाग्रही नहुन आग्रह गर्नुभयो ।

कांग्रेस नुवाकोट निर्वाचन क्षेत्र नं. १ का सभापति एवं लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले नुवाकोटको दुर्गमबस्तीको विकास र धार्मिक तथा पर्यटकीय स्थलको प्रबद्र्धन गर्न निर्वाचन क्षेत्र नं १ को मेरुदण्डका रुपमा रहेको ‘गङ्गटे–गोल्फुभञ्याङ’ सडक तत्काल ठेक्का खुलाउन माग गर्नुभयो ।

विसं २०३० मा ट्रयाक खोलिएको गगङ्टे–गोल्फुभञ्याङ सडकअन्तर्गत हाल ढिकुरेलाई शून्य किमी मानेर व्यवस्थित कालोपत्रेको स्तरोन्नति गर्न लागिएको सडक डिभिजन नुवाकोटका सूचना अधिकारी अमृतप्रसाद यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार योजना आयोगबाट चालु आवमा रु एक अर्ब २० करोडको स्रोत सुनिश्चित भएअनुसार निर्माण सुरु गर्न लागिएको थियो । बहुवर्षीय योजनाअन्तर्गत चालु आवमा रु ३० करोड बजेट कार्यान्वयनका लागि गत फागुन २४ मा बोलपत्र आह्वान गरिएको थियो ।

गत चैत २१ मा नै ठेक्का फाइल खोल्नुपर्ने भए पनि सडक विभागको सहमति नहुँदा योजना कार्यान्वयन अन्योल भएको सडक डिभिजनका इञ्जिनियर यादवको भनाइ छ ।
-रामहरि न्यौपाने

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.