प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री मोदीको सपथ समारोहमा सहभागी

जेष्ठ २८, २०८१ मा प्रकाशित | 149 views


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको छ।

प्रधानमन्त्री दाहाल भारतीय राष्ट्रपति भवनको प्राङ्गणमा हिजो बेलुकी आयोजित विशेष समारोहमा सहभागी हुनुभएको नयाँदिल्लीमा रहेको नेपाली राजदूतावासले जनाएको छ । प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’, श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत विशिष्ट अतिथी उपस्थित हुनुहुन्थ्यो । यसैगरी समारोहमा भारतका विभिन्न राजनीतिक दलका नेता तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता थियो ।

प्रधानमन्त्री ‘प्रचण्ड’ शपथ ग्रहण समारोहमा सहभागी हुन हिजो दिउँसो नयाँ दिल्ली जानुभएको हो । प्रधानमन्त्री दाहालका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ । प्रधानमन्त्री ‘प्रचण्ड’ आज स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web