पहाडी भेगका केही ठाउँमा बिहानैदेखि वर्षा

बैशाख २८, २०८१ मा प्रकाशित | 189 views


काठमाडौँ । काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका केही पहाडी भेगमा बिहानैदेखि हल्का पानी परेको छ । आज लगातारजसो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार दिउँसोपख पानी पर्ने क्रम रोकिनेछ । आज दिउँसो कतैकतै केहीबेर मात्रै फाट्फुट्ट पानी पर्ने सम्भावना छ ।

भोलि र पर्सि भने आजको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद अर्यालले जानकारी दिनुभयो । पानी पार्ने प्रणाली पश्चिमतिर सर्दै गएकाले भोलि र पर्सि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै पानी पर्न सक्ने मौसमविद्को अनुमान छ ।

हिजो कोशी प्रदेशमा धेरै पानी परेको थियो । विराटनगरमा ९१ दशमलव ५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायु, स्थानीय वायु र भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव छ ।

गएको आइतवार पूर्वी भेगदेखि शुरु भएको वर्षाले देशभर लागेको डढेलो निभाएको छ । गर्मी पनि घटाएको छ भने लामो समयपछि वर्षा हुँदा खेतीबालीमा राहत पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web