बिदा लिएर निजीमा काम गर्ने स्वास्थ्यकर्मीलाई कारबाही

बैशाख २५, २०८१ मा प्रकाशित | 155 views


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी संस्थामा बिदा लिएर निजी तथा गैरसरकारी संस्थामा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कारबाही गर्न थालेको छ ।

स्वास्थ्य मन्त्रालयका मातहातमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले अध्ययन, असाधारण, घर बिदा , बिरामी बिदा, भैपरी आउने र पर्वजस्ता बिदा लिएर निजी तथा गैरसरकारी संस्था काम गर्ने प्रवृत्ति बढ्दै गएको गुनासो आएपछि मन्त्रालयले कारबाही थालेको हो ।

स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले प्रतिष्ठान, विभाग, अस्पाताल र केन्द्रलाई निर्देशन जारी गर्दै गैरजिम्मेवारीपूर्ण काम गर्ने जो–कोहीलाई कानुन बमोजिम हैदसम्म कारबाही गरिने चेतावनी दिएका छन् ।

‘केही कर्मचारीले विदेशमा समेत गएर काम गरी आफू जिम्मेवार रहेको निकायमा चिकित्सकीय तथा स्वास्थ्य सेवा प्रवाह नगरी गैरजिम्मेवारीपूर्ण कार्य गरेकाले स्वीकृत गरेको बिदा रद्द गर्नका लागि विभिन्न निकायको गुनासो प्राप्त भएको छ,’ निर्देशनमा भनिएको छ, ‘ यस्ता त्रियाकलाप भए गरेको पाइएमा कानुन बमोजिम हदैसम्म कारबाही हुनेछ ।’

स्वास्थ्य सेवा ऐन, २०५३ र नियमावली, २०५५ मा सबै सरकारी कर्मचारीको समय नेपाल सरकारको अधिनमा हुने र बिदा अधिकारको कुरा नभएर सहुलियत मात्रै भएको स्पष्ट कानुनी व्यवस्था रहेको बुर्लाकोटीले उल्लेख गरेका छन् ।

‘कर्मचारीले नियमावली अनुसार बिदा लिन पाउने र जुन उद्देश्यले लागि बिदा लिएको सोही प्रयोजनामा उपयोग गर्नुपर्ने हुन्छ,’ सचिव बुर्लाकोटीले भने, ‘एउटा बिदा लिएर अर्को काम गरेको भेटिए बिदा रद्द गरी कारबाही हुनेछ ।’

सचिव बुर्लाकोटीले स्वदेशी तथा विदेशी निजी स्वास्थ्य संस्थाले सरकारी चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीले त्यस्तो कार्य गरेको देखिएमा मन्त्रालयमा तथा सम्बन्धित निकायमा जानकारी गराउन समेत आमसर्वसाधारणसँग अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web